पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिको अन्तिम तयारी धमाधम
काठमाडौँ । आराध्यदेव भगवान् पशुपतिनाथको मुख्य पर्व महाशिवरात्रिका लागि पशुपति क्षेत्र विकास कोषले भक्तजनहरूको सुविधालाई ध्यानमा राख्दै चारवटा दर्शन मार्ग तय गरेको छ ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा कोषले यस वर्षको महाशिवरात्रिमा दर्शनार्थीहरूलाई सहज रूपमा मन्दिर प्रवेश गराउन यस्तो व्यवस्था मिलाइएको जानकारी दिएको हो ।
कोषका अनुसार मैतीदेवी, बत्तिसपुतली र पुरानो बानेश्वरतर्फबाट आउने दर्शनार्थीहरूले गौशाला–पिङ्गलास्थान गेट हुँदै दक्षिण ढोकाबाट मन्दिर प्रवेश गर्न पाउनेछन् ।
त्यस्तै भक्तपुर, ललितपुर र कोटेश्वर–तिनकुने क्षेत्रबाट आउनेहरूका लागि राममन्दिर–आर्यघाट हुँदै दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।
जोरपाटी, कपन र चावहिलबाट आउने दर्शनार्थीहरूलाई गौरीघाटतर्फको मार्गबाट र रातोपुल–कालोपुलतर्फबाट आउनेहरूका लागि जयवागेश्वरी मन्दिर हुँदै पशुपतिनाथ प्रवेश गर्ने मार्ग तोकिएको छ ।
कोषले यस वर्ष दर्शनार्थीहरूलाई लाइनमा बसेको छोटो समयमै दर्शन गराउने गरी स्वयंसेवक र सुरक्षाकर्मीको परिचालन गर्ने तयारी समेत गरेको छ ।
यस वर्षको महाशिवरात्रि पर्व फागुन ३ गते आइतबार परेको छ । पर्वलाई व्यवस्थित बनाउन कोषले विभिन्न ११ वटा उपसमितिहरू गठन गरी सरसफाइ, बिजुली बत्तीको सजावट र साधुसन्तको आवास व्यवस्थापनका कामहरूलाई तीव्र पारेको छ ।
