कोइराला परिवारको विरासत जोगाउने दाउमा शेखर
विराटनगर। मोरङ क्षेत्र नम्बर ६ मा यसपटकको प्रतिनिधिसभा निर्वाचन निकै पेचिलो र रोचक मोडमा पुगेको छ। कोइराला परिवारको विरासत जोगाउने चुनौतीसहित नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला चुनावी मैदानमा उत्रिँदा उनलाई एमालेका विनोद ढकालले चुनौती दिइरहेका छन्।
प्रत्यक्ष निर्वाचनमा कोइराला परिवारबाट यसपटक शेखर एक्लो उम्मेदवार हुन्। शशांक र सुजाता चुनावी मैदानमा नरहेकाले पनि परिवारको बिरासत कायम राख्ने सम्पूर्ण भार शेखरको काँधमा आइपरेको छ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जागिर छाडेर राजनीतिमा होमिएका कोइरालाको यो क्षेत्रमा छैटौँ पटकको चुनावी प्रतिस्पर्धा हो।
यसअघिका पाँच निर्वाचनमध्ये कोइरालाले तीन पटक जित र दुई पटक हार बेहोरेका छन्। यसपालि उनी र एमालेका विनोद ढकालबीच १७ वर्षपछि पुनः चुनावी भेट भएको छ। यसअघि २०६५ को उपनिर्वाचनमा कोइरालाले ढकाललाई पराजित गरेका थिए।
मोरङ ६ को चुनावी इतिहास निकै चलायमान छ। २०४८ सालयताका निर्वाचनहरूमा यहाँका मतदाताले हरेक पटकजसो नयाँ अनुहारलाई अवसर दिने गरेका छन्।
२०७९ को निर्वाचनमा कोइरालाले एमालेका लालबाबु पण्डितलाई फराकिलो मतान्तरले पराजित गरेका थिए। तर यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीकी रूविना आचार्य र अन्य युवा उम्मेदवारहरूको उपस्थितिले कोइरालालाई चुनौती थपिदिएको छ। विशेषगरी जेनजी पुस्ताको नयाँ नेतृत्वप्रतिको आकर्षणले पुराना नेताहरूलाई दबाबमा पारेको छ।
विराटनगर महानगरपालिकाका सात वटा वडासहित बुढीगंगा गाउँपालिका र सुन्दरहरैँचाका केही वडाहरू समेटिएको यस क्षेत्रमा १ लाख ३७ हजार ८३२ मतदाता छन्।
पार्टीभित्रको गुटबन्दी र युवा पुस्ताको असन्तुष्टि व्यवस्थापन गर्नु कोइरालाका लागि मुख्य चुनौती देखिएको छ। अर्कोतर्फ एमालेका ढकाललाई पनि पार्टीभित्रको आन्तरिक समीकरण मिलाउन उत्तिकै सकस छ।
दुई ठूला दलका पाका नेताहरू आपसी किचलो र विरासत जोगाउने धुनमा रहँदा नयाँ दल र स्वतन्त्र उम्मेदवारहरूले यसको फाइदा उठाउन सक्ने विश्लेषण गर्न थालिएको छ।

कोइरालाले वडा वडामा समिति बनाएर पार्टीका सबैजसो भातृ संगठनलाई परिचालन गरेका छन्। उनले यसअघि आफूले गरेका विकासका कामहरुको फेहरिस्त मतदातामाझ लैजान कार्यकर्तालाई परिचालन गरेका छन्।
कोइरालाले आफ्नो क्षेत्रमा पर्ने बुढीगंगा गाउँपालिकाका वडाहरू १, २, ३, ४,५, ६ र सातमा एकैदिन पार्टी कार्यालय उद्घाटन गर्दै विकासका काममा आफूले कहिल्यै बेवास्ता नगरेको बताए।
पिउने पानी, सडक, स्वास्थ्य संस्थालगायत पूर्वाधार विकासमा उल्लेखनीय प्रगति भएको उनको दाबी छ । ‘अहिले बुढीगंगाको मुहार फेरिएको छ,’ उनले भने, ‘कसैले यहाँ विकास भएको छैन कसैले भन्छ भने म पत्याउँदिनँ।’
साना सभा र मतदातामाझ कोइरालाले भन्ने गरेका छन्, ‘कांग्रेसले जिते मात्र लोकतन्त्र, संविधान, संसद्को सर्वोच्चता तथा धार्मिक–सांस्कृतिक पहिचान जोगिने छ।’
यही क्रममा कोइरालाले विभिन्न पेशागत संगठनका प्रतिनिधि, टोल समितिहरु, वडा समितिहरु लगायत पार्टीका शुभेच्छुक संस्थालाई पनि चलायमान बनाइरहेका छन्। ‘सबैले मिलेर लाग्ने हो भने हामी सफल हुन्छौं’ उनले कार्यकर्तामाझ भन्ने गरेका छन्, ‘सबै साथीहरूले सबै पुस्ताका मतदातालाई आफ्ना पक्षमा पार्न सक्दो मेहनत गरौं।’
भेट र छलफलहरूमा शुभेच्छुकहरूले उनलाई आफ्नो कमी कमजोरीको मूल्यांकन गरी तिनलाई सुधार गरेर सकेसम्म आफ्नो निर्वाचन क्षेत्रका धेरै ठाउँको भ्रमण गर्न र आफ्ना कुरा मतदातामाझ राख्न सुझाव दिएका छन्। कोइरालाले पनि आफूमा पनि कतिपय कमजोरी रहेको तर त्यसलाई अब सच्याएर अघि बढ्ने प्रतिबद्धता जनाउँदै आएका छन्।
मोरङ ६ का मतदाताले यसपटक कोइरालाको विरासतलाई निरन्तरता दिन्छन् वा नयाँ विकल्प रोज्छन् भन्ने कुराले फागुन २१ गते हुने निर्वाचनको नतिजालाई निकै अर्थपूर्ण बनाउनेछ।
