झापा गोल्डकप : मछिन्द्र र एन पेनाङ भिड्दै
बिर्तामोड। सातौँ झापा गोल्डकपको अन्तिम क्वार्टर फाइनल खेलमा आज बिहीबार मछिन्द्र फुटबल क्लबले मलेसियाको एन पेनाङ फुटबल क्लबविरुद्ध प्रतिस्पर्धा गर्दैछ।
डोमालाल राजवंशी रंगशालामा दिउँसो ३ बजे नेपालीहरूले मलेसियामा सञ्चालन गरेको टोलीले उत्कृष्ट लयमा रहेको ‘ए’ डिभिजन क्लब मछिन्द्रसँग सेमिफाइनल प्रवेशका लागि खेल्न लागेको हो।
जारी राष्ट्रिय लिगमा ६ खेलबाट १६ अंक बटुल्दै शीर्ष स्थानमा रहेको मछिन्द्र झापाली प्रशिक्षक प्रवेश कटवालको नेतृत्वमा मैदान उत्रिँदैछ। सुजल श्रेष्ठको कप्तानीमा रहेको टोलीमा देवेन्द्र तामाङ, पेमा तामाङ र प्रदिप बुढाथोकी जस्ता झापाली खेलाडीहरू समावेश छन्।
अर्कोतर्फ एन पेनाङबाट नेपाली यू-२३ टोलीका सदस्य लहान सुब्बा पतङवासहित मदन स्याङतेन र योगेश लिम्बूले खेल्नेछन्। ताप्लेजुङका लहान सुब्बा गत वर्ष राष्ट्रिय टोलीमा समेत छनोट भएका थिए।
एन पेनाङको टोलीमा नेपालीका साथै मलेसियन, भारतीय, ब्राजिलियन र उज्वेकिस्तानका खेलाडीहरू अनुबन्धित रहेका छन्। टोलीको प्रशिक्षक र अन्य पदाधिकारीहरू भने नेपाली नै हुन्। दुई पटकको सहिद स्मारक लिग विजेता मछिन्द्र र मलेसियाको विभिन्न उपाधि जितेको एन पेनाङबीचको यो खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
प्रतियोगितामा दर्शकलाई आकर्षित गर्न बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले हरेक दिन एक जना दर्शकलाई टेलिभिजन प्रदान गर्दै आएको छ। यस्तै पहिलो दिनदेखि फाइनलसम्मको टिकट लिने दर्शकमध्ये एक जनाले यामाहाको स्कुटर प्राप्त गर्ने आयोजकले जनाएका छन्।
प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने सर्वोत्कृष्ट खेलाडीलाई एउटा मोटरसाइकल प्रदान गरिनेछ। अन्य विधागत उत्कृष्टलाई जनही ३५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ।
