झापा गोल्डकप : आर्मी सेमिफाइनलमा, आज एपीएफ र भुटान भिड्दै
बिर्तामोड। झापाको डोमालाल राजवंशी रंगशालामा जारी सातौँ एक्स्ट्रिम झापा गोल्डकपमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।
मंगलबार भएको क्वार्टरफाइनल खेलमा लालिगुराँस एसोसिएसन पोखरालाई टाइब्रेकरमा ४-२ गोल अन्तरले पराजित गर्दै चारपटकको विजेता आर्मीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि हारजितको निर्णय टाइब्रेकरबाट लिइएको थियो। टाइब्रेकरमा आर्मीका नविन लामा, विक्रम तामाङ, जर्जप्रिन्स कार्की र गोलकिपर विकेश कुथुले गोल गरे।
पोखराका लागि टिकाराज गुरुङ र सुदिप गुरुङले मात्र गोल गर्न सके। पोखराका लक्षु थापाको प्रहार बाहिरिएको थियो भने विसन गुरुङको प्रहार विकेश कुथुले रोकेका थिए।
आर्मीका गोलकिपर विकेश कुथु खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। खेलको पहिलो हाफमा पोखराले आर्मीमाथि दबाब राखे पनि गोल गर्न सकेको थिएन।
दोस्रो हाफ र इन्ज्युरी समयमा आर्मीले केही सुन्दर अवसरहरू सिर्जना गरे पनि पोखराका गोलकिपर अनिस महतो बाधक बनेका थिए।
प्रतियोगिता अन्तर्गत बुधबारको खेल सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लब र भुटानको रोयल थिम्पु कलेजबीच हुने आयोजकले जनाएको छ। झापा गोल्डकपको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
