निर्वाचनमा ड्रोन उडानमा पूर्ण प्रतिबन्धमा ड्रोन उडानमा पूर्ण प्रतिबन्ध

काठमाडौँ। आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी सरकारले सुरक्षा व्यवस्थामा निकै कडाइ गरेको छ।

निर्वाचनको समयमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै केन्द्रीय सुरक्षा समितिले देशभर ड्रोनको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले जनाएअनुसार फागुनमा हुने निर्वाचनका क्रममा सुरक्षा चुनौती बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै ड्रोन उडान रोक्ने निर्णय भएको हो।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले ‘एकीकृत निर्वाचन सुरक्षा योजना-२०८२’ स्वीकृत गर्दै यस्तो रणनीति तय गरेको हो।

निर्वाचनको समयमा सामाजिक सञ्जालको दुरुपयोग गरी फैलाइने मिथ्या, भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति रोक्न नेपाल प्रहरीको अत्याधुनिक साइबर युनिटलाई थप सक्रिय बनाइएको छ।

प्रवक्ता काफ्लेका अनुसार निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने र भ्रम फैलाउने व्यक्तिहरूको कडा निगरानी भइरहेको छ र त्यस्ता गतिविधिमा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याइनेछ।

सुरक्षा योजनाअन्तर्गत सञ्चार सम्पर्क नहुने मतदानस्थलहरूको पहिचान गरी उचित व्यवस्था मिलाउने र निर्वाचनमा खटिने सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीको बिमा गर्ने निर्णयसमेत गरिएको छ।

गृह मन्त्रालयले सबै सुरक्षा निकाय र प्रशासनिक संयन्त्रलाई निर्वाचन सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन र चुस्त व्यवस्थापनमा लाग्न स्पष्ट निर्देशन दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *