खोटाङमा बिहे भोजले १५० जना बिरामी, बेहुला-बेहुली पनि थला

विराटनगर। खोटाङको जन्तेढुंगा गाउँपालिका-६ दिप्लुङमा बिहेको भोज खाएका करिब १५० जना स्थानीय बासिन्दा बिरामी परेका छन्। माघ २१ गते आयोजित विवाह समारोहमा सहभागी भएर भोज खाएका उनीहरूमा ‘फुडपोइजन’ भएको आशंका गरिएको छ।

भोज खाएको करिब १२ घण्टापछि अर्थात् २२ गते बेलुकादेखि स्थानीयमा समस्या देखिन थालेको हो। बिरामीहरूमा सुरुमा ज्वरो आउने, शरीर काम्ने र झाडापखाला लाग्ने जस्ता लक्षण देखिएको छ। बिरामी पर्नेमा स्वयं बेहुला र बेहुलीसमेत रहेका छन्।

बिरामीको संख्या अत्यधिक बढेपछि स्थानीय निगालावास भञ्ज्याङ निवासी रामकुमार राईको घरमा अस्थायी शिविर खडा गरी उपचार सुरु गरिएको छ। गाउँपालिका उपाध्यक्ष खेम खड्काका अनुसार बिरामी हुनेहरूको चाप बढ्दै गएपछि गाउँपालिकाको स्वास्थ्य शाखा, स्वास्थ्य कार्यालय र जनप्रतिनिधिहरूको टोली उपचारमा खटिएका छन्।

बिरामीको चाप थेग्न गाह्रो भएपछि स्वास्थ्य कार्यालयबाट थप औषधि र स्वास्थ्यकर्मीको जनशक्ति मगाइएको छ। गाउँपालिकाले माघ २३ गतेदेखि नै शिविर सञ्चालन गरेर बिरामीको व्यवस्थापन गरिरहेको छ।

उपचार गराउन आउने र जाने क्रम जारी रहेको छ भने धेरैजसो सामान्य उपचारपछि घर फर्किसकेका छन्। हाल ३५ जनाको अवस्था केही जटिल रहेकाले उनीहरूलाई स्लाइनपानी र जीवनजल दिएर उपचार भइरहेको छ। ‘फुडपोइजन’ हुनुको वास्तविक कारण पत्ता लगाउन प्रदेशबाट विशेष टोली मगाएर नमुना संकलन गर्ने तयारी भइरहेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख कुलबहादुर पौडेलले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *