आमैले भोट दिन्नन्
गाउँमा चुनाव आएको ठूलो हल्लासँगै
आमैको आँगन पनि भरिन थाल्यो
अपरिचित मान्छेहरुको ठूलो भिडले
कसैले सडक ल्याइदिन्छु भने
कसैले बिजुली ल्याइदिन्छु भने
कसैले धारा ल्याइदिन्छु भने
कसैले अस्पताल ल्याइदिन्छु भने
सबैले एक न एक थोक ल्याइदिन्छु भने
तर आमाले
कसैलाई पनि भोट नदिने निर्णय गरिन्
किनकि
खाडी गएको आमैको छोरोलाई
कसैले पनि फर्काएर ल्याइदिन्छु भनेनन्।
प्रतिक्रिया
