ज्ञानको आलोकमा एक मनीषी
प्रा. डा. महेशराज पन्त साधनाको पर्याय र इतिहासको जीवन्त पुस्तकालय हुनुहुन्छ। ज्ञानको आलोकमा एक मनीषीको पहिचान बनाउनुभएका इतिहासकार पन्तको योगदान नेपाली इतिहासका सत्य–तथ्य पाटाहरू उतार्न अतुलनीय रहेको छ। यस्ता आदरणीय विद्वान् मनीषीसित भेट गर्न पाउँदा मलाई आफूभित्र सकारात्मक ऊर्जा प्रवाहित भएको अनुभूति भएको छ।
प्रा. डा. महेशराज पन्तसँगको भेट सामान्य चिनाजानी र कुराकानीमै सीमित थिएन। त्यो त एउटा ऐतिहासिक यात्राको सुरुवात थियो। उहाँसँग फोनमा संवाद भएपछि म उहाँको निवास ‘डल्लु आवास’ तर्फ लागेँ। मौसमले पनि अलि भिन्नै चुनौती दिएको थियो– बाहिर सिमसिम झरी परिरहेको थियो। मानौँ प्रकृति पनि कुनै शान्त अनुष्ठानको तयारीमा छ र केही दिनदेखि मैलिएको प्रकृतिलाई धोइपखाली गरी चोख्याउँदै छ।
सोध्दै–खोज्दै जब म उहाँको दैलोमा पुगेँ, त्यहाँ कुनै तडकभडक थिएन। उहाँ आफैँले फलामे प्रवेशद्वार खोलेर मलाई स्वागत गर्नुभयो। एउटा विश्वविख्यात विद्वान्को त्यो सादापन र विनम्रता देख्दा मेरो शिर श्रद्धाले झनै निहुरियो। मैले उहाँलाई हार्दिक अभिवादन गरेँ र उहाँले मलाई आफ्नो बैठक कक्षमा भित्र्याउनुभयो।
बैठक कक्षमा छिर्नेबित्तिकै मलाई लाग्यो कि म कुनै कोठामा होइन, ज्ञानको महासागरमा आइपुगेको छु। उहाँले आफ्ना खोज, अनुसन्धान र लिपिबद्ध गरेका इतिहासका विविध पाटाहरू उक्काउन थाल्नुभयो। ती पुराना भएर जीर्ण बनेर भित्ताबाट झरिरहेका थिएनन्। ती त आफ्नो क्षेत्रका विज्ञ अनुभवी विद्वान्का मुखारविन्दबाट स्वतः प्रस्फुटित अमर वाणी थिए। जहाँ इतिहासका साक्षात् पलहरू सार्वजनिक हुन्थे। जहाँ खोज र अनुसन्धानका पाटाहरू उजागर गरिएका सन्दर्भहरू सुसेलिएका हुन्थे। जहाँ प्राप्तिका क्षणहरू र समयले दिएका घात–प्रतिघातका आरोह–अवरोहहरू व्यक्त गरिएका हुन्थे।
उहाँको प्रत्येक शब्द सुनिरहँदा मलाई म इतिहासका ती कालखण्डतिर आफैँ पुग्दै छु जस्तो लाग्यो, जुन अधिकांशतः सय वर्ष पुराना तथ्यको ओजन र अनुसन्धानको गहिराइ थियो। उहाँ बोलिरहँदा मलाई यस्तो महसुस भयो– म वर्तमान समयबाट बिस्तारै टाढिँदै छु र अतीततिर पुग्दै छु। मैले मेरो गौरवमय इतिहासको पाना पढ्ने सुनौलो अवसर पाएको छु। मैले मेरो सामुन्ने ज्ञानवृद्ध, सीपवृद्ध, कलमजीवी र ऐतिहासिक दस्तावेजलाई सही किसिमले लिपिबद्ध गर्ने अग्रज आदरणीय व्यक्तित्व भेटिरहेको थिएँ। यस्तो भेट चिया गफको क्षणिक चिनजानको ‘टाइम पास’ को मेलोमेसो मात्रै थिएन। एउटा सही निचोड, एउटा अलग्गै मौलिक पहिचानको चिनारी र एउटा जीवित इतिहासको खोजकार्यमा प्राप्त सफलताको कथा थियो।
उहाँका एकपछि अर्को कुराहरूले मलाई इतिहासका ती व्यतीत कालखण्डहरूमा पुर्याइरहेका थिए। म ती कालखण्डमा पुग्दै गर्दा कहिले हर्षले निःशब्द हुन पुग्थेँ त कहिले घृणाले दाह्रा किट्थेँ। यस्ता तथ्यलाई अथक प्रयत्नले खोजेर सार्वजनिक गर्ने साधक महेशराज पन्तप्रति म सतत् नमन गरिरहेँ। लिच्छविकालदेखि शाहकालसम्मका घटनाहरू मेरा आँखा अगाडि चलचित्रझैँ घुम्न थाले। बाहिर झरीको आवाज आइरहेको थियो भने भित्र उहाँको ज्ञानको धारा अविरल बगिरहेको थियो। उहाँको स्मरणशक्ति र नयाँ तथ्य पत्ता लगाउने भोक देख्दा म स्तब्ध भएँ। उहाँको सान्निध्यमा बिताएका ती क्षणहरूले मभित्र एउटा नयाँ ऊर्जा सञ्चार गर्यो।
एउटा साँचो मनीषी कस्तो हुन्छ भन्ने कुरा मैले डा. पन्तलाई भेटेपछि बुझ्ने मौका पाएँ। उहाँको जीवनको यो खुला पाना अध्ययन गर्दा लाग्छ– सच्चा ज्ञानले मानिसलाई जति अग्लो बनाउँछ, उति नै विनम्र पनि बनाउँछ। त्यो वर्षातको दिन र डा. पन्तको ज्ञानको आलोक मेरो मानसपटलमा सधैँ ताजा रहने छ।
विद्वान् प्रा. डा. महेशराज पन्त नेपाली इतिहास–अध्ययनका क्षेत्रमा दुर्लभ व्यक्तित्व हुनुहुन्छ। उहाँ इतिहासकार मात्र होइन, पुरातत्वविद्, भाषाशास्त्री, सम्पादक र आलोचनात्मक चिन्तकका रूपमा पनि परिचित हुनुहुन्छ। नेपालको इतिहास अध्ययनका लागि सबैभन्दा विश्वसनीय, तथ्याधारित र अनुशासित स्रोतपरम्परा जसले निर्माण गरेको छ, त्यसको केन्द्रमा पन्तको नाम सर्वोच्च स्थानमा उभिन्छ।

उहाँको पहिलो र अन्तिम औपचारिक डिग्री पीएचडी हो। एक दिन कुनै स्कुल, कलेज नगई, कुनै पाठ्यक्रमको पछि नलागी, स्वाध्ययनका भरमा जर्मनीको ह्याम्बर्ग विश्वविद्यालयबाट उहाँले पीएचडी गर्नुभएको हो। आठ दशकको उकालो उमेरमा पनि अझै इतिहासका नयाँ तथ्यहरूको खोजतलासमा रातदिन नभनी तल्लीन हुनुहुन्छ। उत्तिकै जाँगरका साथ इतिहासको सेवा गर्नु कुनै अलौकिक साधनाभन्दा कम छैन।
प्रा. डा. महेशराज पन्तको जीवनयात्रा सबैका लागि प्रेरणादायी छ। सरल जीवनशैली, स्वाभाविक भावपूर्ण र तथ्यपरक अभिव्यक्ति उहाँको विशेषता हो। एउटा पनि औपचारिक ‘सर्टिफिकेट’ विना सिधै ‘पीएचडी’ हासिल गर्नु नेपाली इतिहासको जगतमा एउटा यस्तो उदाहरण हो, जसले कुनै विद्यालयको प्राङ्गण टेकेनन्, कक्षामा बसेनन्। कुनै औपचारिक पाठ्यक्रमको भारी बोकेनन्, तर आज उहाँ आफैँमा एउटा ‘विश्वविद्यालय’ हुनुभएको छ।
धेरैका लागि यो दन्त्यकथा जस्तो लाग्न सक्छ कि कुनै व्यक्तिले स्कुल–कलेज नगई सिधै विद्यावारिधि हासिल गर्न सक्छ। तर डा. पन्तले आफ्नो कडा परिश्रम र अनवरत स्वाध्ययनको बलमा जर्मनीको प्रख्यात ह्याम्बर्ग विश्वविद्यालयबाट पीएचडी गरेर यो असम्भवलाई सम्भव तुल्याइदिनुभयो। यो उहाँको बौद्धिक क्षमता र अनुशासनको ज्वलन्त नमुना हो।
उहाँको निजी सङ्ग्रहमा २२ हजारभन्दा बढी बहुमूल्य पुस्तकहरू छन्। तीमध्ये करिब २० हजार पुस्तक उहाँले पढिसक्नुभएको छ। नयाँ तथ्यहरूको खोजमा उहाँको तल्लीनता युवा पुस्ताका लागि एउटा ठूलो पाठ हो। उहाँले इतिहासका कैयौँ ठेलीहरू लेख्नुभएको छ, जसले नेपाली इतिहासका अँध्यारा कुनाहरूलाई उज्यालो पारेका छन्। ‘पूर्णिमा’ जस्तो अनुसन्धानमूलक पत्रिकाको सम्पादनदेखि लिएर ऐतिहासिक अभिलेखहरूको व्याख्यासम्म उहाँको योगदान अतुलनीय छ।
‘इतिहास विगतको घटना होइन, यो त भविष्यका लागि मार्गचित्र पनि हो।’ डा. पन्तको कार्यशैलीले यही सन्देश दिन्छ। उहाँ इतिहासको गहिरो अनुसन्धाता, विश्लेषक, लेखक, अथक सर्जक र प्रेरणाका स्रोत हुनुहुन्छ। उहाँलाई भेट्नु भनेको सकारात्मक ऊर्जाको महासागरमा डुबुल्की मार्नु हो। एउटा मनीषी, जसले कहिल्यै पद वा पैसाको लोभ नगरी ‘सत्य’ को खोजमा आफ्नो जीवन समर्पण गर्यो, उहाँको सान्निध्य पाउनु नै गौरवको कुरा हो।
प्रा. डा. महेशराज पन्त एक इतिहासकार मात्र नभएर नेपाली ज्ञान–परम्पराका एक ‘ऋषि’ हुनुहुन्छ। उहाँको जीवनले सिकाउँछ– पढ्न, सिक्न, बुझ्न वा बौद्धिकता विकास गर्नका लागि कक्षाकोठा होइन, दृढ इच्छाशक्ति र जिज्ञासाको आवश्यकता पर्छ। कुनै पनि व्यक्तिमा जान्ने इच्छा हुनु ठूलो कुरा हो। यसले नै उसलाई सधैँ सचेत, सजग र केही न केही कुरा सिकौँ, बुझौँ भन्ने भावनालाई जगाइरहन्छ।
संशोधन मण्डलः ज्ञान–अनुशासनको पाठशाला डा. पन्तको बौद्धिक निर्माणको मूल आधार संशोधन मण्डल पाठशाला हो। उहाँका पिता नयराज पन्तले वि.सं. २००९ सालदेखि सुरु गरेको यो पाठशालाले नेपालमा इतिहास लेखनलाई कथनबाट अनुसन्धानतर्फ मोडिदियो। संस्कृत, प्राकृत, नेवारी, ऐतिहासिक अभिलेख, ताम्रपत्र, शिलालेख र हस्तलिखित ग्रन्थहरूको गहिरो अध्ययन गर्ने कठोर परम्परामा हुर्किएका महेशराज पन्तले यही आधारमा जर्मनीको ह्याम्बर्ग विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) प्राप्त गर्नुभयो।
उहाँको शैक्षिक यात्रा पश्चिमी विश्वविद्यालयमा पुगे पनि ज्ञानको जरो नेपालमै रह्यो। यही कारण उहाँको लेखनमा न त अन्धराष्ट्रवाद छ, न त विदेशी विद्वत् परम्पराको अन्धानुकरण। “के इतिहास राजा–महाराजा र जित्नेहरूको मात्र हुन्छ?” भन्ने प्रश्नमा पन्तको उत्तर स्पष्ट छ– इतिहास न राजा हो, न प्रजा; इतिहास त तथ्य र प्रमाणको हुन्छ। इतिहास कहिल्यै राज्यसत्ताको गुणगानमा मात्रै आधारित हुँदैन।
उहाँको दृष्टिमा इतिहास भनेको शक्ति र सत्ताको प्रशस्तिगान होइन, बरु स्रोतको आलोचनात्मक परीक्षण हो। तर नेपाली सन्दर्भमा समस्या के छ भने, ऐतिहासिक साधन–स्रोतहरू (अभिलेख, दस्तावेज, शिलालेख) को संरक्षण परम्परा कमजोर छ। त्यसैले इतिहास धेरैजसो सत्तामा पहुँच भएकाहरूको दृष्टिकोणबाट लेखियो। पन्तको सम्पूर्ण लेखन–जीवन यही प्रवृत्तिको विरुद्ध उभिएको देखिन्छ।
