कोइलाखानी विष्फोटमा खोटाङका २ दाजुभाइको मृत्यु

काठमाडौँ । भारतको मेघालयस्थित एक कोइलाखानीमा भएको भीषण विष्फोटमा परेर खोटाङका दुई दाजुभाइले ज्यान गुमाएका छन्।

मेघालयको उम्साङघाटमा रहेको खानीमा बिहीबार ब्लास्टिङ गर्ने क्रममा आगलागी हुँदा बराहपोखरी गाउँपालिका–१ सालघारीका २७ वर्षीय पूर्णबहादुर खपाङ्गी र २४ वर्षीय सुरेन्द्र खपाङ्गीको मृत्यु भएको हो। उनीहरू नाताले एकाघरका दाजुभाइ हुन्।

घटनामा अन्य चार नेपाली कामदार गम्भीर घाइते भएका छन्। घाइते हुनेहरूमा खोटाङको बराहपोखरी भञ्ज्याङका बमबहादुर खपाङ्गी, सालघारीका कर्णबहादुर खपाङ्गी, नरबहादुर खपाङ्गी र उदयपुर साउनेका ललित मगर रहेका छन्।

सात जनाको टोलीमा रहेका बराहपोखरी बालम्पाका ताराबल मगर भने सुरक्षित छन्। ताराबलले नै फोनमार्फत गाउँमा घटनाको जानकारी गराएको छिमेकी शिवकुमार श्रेष्ठले बताए।

मृतक र घाइतेहरू रोजगारीका लागि गत पुस ३ गते मात्र मेघालय गएका थिए। खोटाङका विभिन्न क्षेत्रबाट स्थानीयहरू कामको खोजीमा वर्षेनी मेघालय जाने गर्छन्। विष्फोटमा परेर ज्यान गुमाउनेको कुल संख्या १८ पुगेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई २–२ लाख र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *