बुढासुब्बा गोल्डकप आजदेखि, धरान र जर्जियन एफसी भिड्दै
धरान । सुनसरीको धरानमा २६ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता आज बिहीबारदेखि सुरु हुँदैछ। धरान रङ्गशालामा हुने उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबले पाहुना टोली भारतको जर्जियन फुटबल क्लबको सामना गर्नेछ।
खेल दिउँसो २ बजे सुरु हुने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन भारतीय टोली हिजै धरान आइपुगिसकेको छ। आजको उद्घाटन खेलको विजेताले आगामी माघ २६ गते हुने क्वाटरफाइनलमा पोखराको लालिगुराँस एफसीसँग प्रतिस्पर्धा गर्नेछ। लालिगुराँस एफसीले भने सिधै बाइ पाएर क्वाटरफाइनलमा स्थान बनाएको हो।
फागुन २ गतेसम्म सञ्चालन हुने यस पटकको प्रतियोगितामा पहिलो पटक १० वटा टोलीको सहभागिता रहनेछ। गोल्डकपमा नेपालका साविक विजेता एनआरटी, उपविजेता चर्च ब्वाइज युनाइटेड, सातदोबाटो युथ क्लब, नेपाल पुलिस क्लब, झापा–११ का साथै भारत र भुटानका क्लबहरूको पनि सहभागिता छ। भुटानको रोयल थिम्पु फुटबल एफसी पनि प्रतियोगिताका लागि धरान आइपुगेको क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए।
प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। यो पुरस्कार राशि धरान उपमहानगरपालिकाले उपलब्ध गराएको हो। विधागत पुरस्कारतर्फ उत्कृष्ट खेलाडीले होण्डाको डियो स्कुटर प्राप्त गर्नेछन् भने म्यान अफ दि म्याचले १० हजार, विधागत उत्कृष्टले २५ हजार र सर्वाधिक गोलकर्ताले ३५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको आचारसंहिता लागू भइसकेकाले प्रशासनले विशेष सर्तसहित खेल सञ्चालनको अनुमति दिएको छ। खेल मैदानमा उम्मेदवारहरूले भाषण गर्न र मत माग्न नपाउने सर्त जिल्ला प्रशासन कार्यालयले राखेको छ।
