ग्यास अभाव टार्न दुई हजार टन थप कोटा

काठमाडौँ। काठमाडौँ उपत्यकामा केही दिनदेखि देखिएको एलपी ग्यासको अभावलाई सम्बोधन गर्न नेपाल आयल निगमले फेब्रुअरी महिनाका लागि दुई हजार मेट्रिक टन थप ग्यास आयात गर्ने भएको छ।

बजारमा ग्यासको कृत्रिम अभाव र उपभोक्ताको गुनासो बढेपछि निगमले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आपूर्ति व्यवस्था सहज बनाउन थप कदम चालिएको जानकारी दिएको हो।

इन्डियन आयल कर्पोरेसनबाट मासिक रूपमा प्राप्त हुने नियमित ४९ हजार ५ सय मेट्रिक टन कोटामा निगमले यसपटक २ हजार मेट्रिक टन थप गरेको छ।

थप कोटासहितको ‘बोटलर्स वाइज एलोकेसन’ इन्डियन आयलका विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टहरूमा पठाइसकिएको निगमले जनाएको छ।

जाडोयामको उच्च माग र आसन्न निर्वाचनलाई मध्यनजर गर्दै उपभोक्तालाई असहज नहोस् भनी यो निर्णय लिइएको हो।

निगमका अनुसार पछिल्ला तीन महिनामा माग धान्न पुग्ने गरी ग्यास आयात भएको छ।

सन् २०२५ को नोभेम्बरमा ४७ हजार २६४, डिसेम्बरमा ४८ हजार ५३१ र २०२६ को जनवरीमा ४७ हजार ३०४ मेट्रिक टन ग्यास आयात भएको विवरण निगमले सार्वजनिक गरेको छ।

हाल बजारमा देखिएको अभाव केही एकाध उद्योगहरूको हकमा मात्र सीमित रहेको निगमको भनाइ छ। ती उद्योगहरूलाई बजारमा आपूर्ति सहज बनाई स्थिति सामान्यीकरण गर्न निर्देशन दिइएको र केही समयभित्रै आपूर्ति सहज हुने आश्वासन निगमले दिएको छ।

निगमले उपभोक्ताहरूलाई आवश्यकताभन्दा बढी ग्यास खरिद नगर्न र घरमा अनावश्यक रूपमा सिलिन्डर भण्डारण नगर्न समेत अनुरोध गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *