माइनस २० डिग्री चिसोमा महिलाले ग्यास स्टेशनमै जन्माइन् बच्चा

अन्टारियो। क्यानाडाको अन्टारियोमा एक महिलाले चिसो सडकको बीचमा रहेको ग्यास स्टेशनमा आफ्नै प्रयासमा बच्चालाई जन्म दिएकी छन्। माइनस २० डिग्री सेल्सियसको अत्यधिक चिसोमा भएको यो घटना अहिले चर्चाको विषय बनेको छ।

ब्राम्पटनकी जेलिसा नामकी ती महिला गत मंगलबार बिहान सुत्केरी व्यथा लागेपछि अस्पताल जान घरबाट निस्किएकी थिइन्। तर व्यथा यति छिटो बढ्यो कि उनलाई अस्पताल पुग्न सम्भव भएन। उनी आफ्ना श्रीमान् र दुई साना छोराहरूसँगै कारमा मिसिसागातर्फ जाँदै थिइन्।

अस्पताल पुग्न करिब १० मिनेट बाँकी छँदै उनको ‘वाटर ब्रेक’ भयो। बाटोमा सुरक्षित ठाउँ नभेटिएपछि उनका श्रीमानले मिसिसागाको ब्याटलफोर्ड रोडस्थित पेट्रो-क्यानडा ग्यास स्टेशनको पार्किङमा कार रोके।

जेलिसा आफैँ एक नर्स हुन्। आपतकालीन टोली आइपुग्नु अगावै उनले बच्चालाई आधा जन्माइसकेकी थिइन्। माइनस २० डिग्रीको कठ्याङ्ग्रिने जाडोमा कारको ढोका खुल्ला थियो। प्यारामेडिक्स (स्वास्थ्यकर्मी) हरू घटनास्थलमा पुगेर उनलाई बाँकी प्रक्रियामा सहयोग गरे र बच्चालाई न्यानो कपडामा बेरेर आमाको काखमा राखिदिए।

अत्यधिक चिसो भए पनि प्रसव पीडा र तनावका कारण आफूलाई भने पसिना आइरहेको जेलिसाले बताइन्। “बाहिरको ढोका खुल्ला थियो र बच्चाले बाहिर निस्कँदा सिधै चिसो महसुस गरिरहेको थियो, त्यो क्षण निकै डरलाग्दो थियो,” उनले भनिन्।

अस्पताल पुगेपछि मात्र दम्पतीले आफूहरूलाई तेस्रो सन्तानको रूपमा पनि छोरा नै जन्मिएको थाहा पाए। बच्चाको नाम माइका राखिएको छ। तर ग्यास स्टेशनमा जन्मिएका कारण परिवार र साथीभाइले मायाले उनलाई ‘पेट्रो’ भनेर बोलाउन थालेका छन्।

नयाँ कार किनेको तीन हप्तामै कारकै अगाडिको सिटमा बच्चा जन्माउनुपर्दा आफूलाई अचम्म लागेको जेलिसाले बताइन्। हाल आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य छ। उनीहरू अस्पतालबाट डिस्चार्ज भएर घर फर्किसकेका छन्।

(‘नेपाल टच’ बाट)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *