डिजेल र मट्टितेलको मूल्यमा वृद्धि, ग्यास र पेट्रोल यथावत्
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार निगमले डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको छ।
नयाँ मूल्यसूची अनुसार अब काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १३९ रुपैयाँ पुगेको छ। भारतीय पक्षबाट खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर ४५ रुपैयाँले बढेर आएको भए पनि निगमले हाललाई उपभोक्ता मूल्यमा कुनै हेरफेर नगरी यथावत् राखेको छ। पेट्रोलको मूल्यमा पनि कुनै परिवर्तन गरिएको छैन।
त्यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य भने केही घटाइएको छ भने अन्तर्राष्ट्रिय उडानतर्फको इन्धनमा काठमाडौँ, पोखरा र भैरहवाका लागि छुट्टाछुट्टै मूल्य तोकिएको छ। निगमले यो नयाँ मूल्य प्रणाली २०८२ माघ १९ गते राति १२ बजेदेखि लागू हुने जानकारी दिएको छ।
