बच्चालाई ‘तपाईं’ होइन, पहिले ‘तँ’ हुन दिनुहोस्
आजकालका धेरै आमाबुबाले आफ्ना साना छोराछोरीलाई ‘तपाईं’ भनेर सम्बोधन गर्छन्। शब्द मिठो हो, सम्मान झल्किन्छ। तर हरेक मिठास सही समयमा मात्र मीठो हुन्छ।
हाम्रा आमाबुबाले सानोमा हामीलाई ‘तँ’ भने। त्यो शब्दमा अपमान थिएन, त्यसमा अपनत्व थियो, अधिकार थियो र सही-गलत सिकाउने हिम्मत थियो। बच्चालाई सानैदेखि ‘तपाईं’ बनाउँदा ऊ छिट्टै बराबरी जस्तो देखिन्छ। बराबरी देखिनु राम्रो हो, तर बराबरी हुँदा मार्गदर्शन हराउँदै जान्छ। बच्चालाई ‘तँ’ मै हुर्कन दिनुहोस्। ‘तपाईं’ हुन समय लाग्न दिनुहोस्। एक दिन उसले आफैँ आफूलाई ‘तपाईं’ बनाउनेछ र त्यही दिन उसले “मलाई कसैले तँ किन भन्दैन?” भनेर सोच्नेछ।
आज हामी बच्चालाई कीटाणुबाट जोगाउने नाममा जीवनबाटै टाढा राख्दैछौँ। डिटोल र फिनेलले सफा गरिएको बाल्यकाल धुलो-माटोसँग खेल्न नपाएको पीडा बोकेर हुर्किन्छ। आँगनमा नलडेको, भित्तामा चित्र नबनाएको बच्चा अनुशासित देखिएला तर जीवनसँग जुध्न कमजोर हुन्छ। यस्तो बच्चा मान्छे कम, आधुनिक युगको कीटाणु धेरै बन्छ- दिमागी रूपमा कमजोर र मनदेखि कठोर।
चार पाङ्ग्रे साइकल चलाउने उमेरमा खेलौना जिपमा बसाएर धनी बनाउने प्रयास नगर्नुहोस्। बच्चाले लडाइँ-झगडा वा गालीगलौज गरेर जित्यो भने त्यो जितमा ताली बजाउनु अपराध जस्तै हो। आज तपाईंको तालीले भोलि तपाईंलाई नै झगडा-मारपिटको खबर सुन्न तयार पार्छ।
बच्चा हुर्कँदा घरका वृद्ध आमाबुबा, सासू-ससुरालाई साथ दिनुहोस्। यसले बच्चालाई संस्कार सिकाउँछ, आत्मविश्वास बढाउँछ र तपाईंका आमाबुबालाई पनि सम्मान र हेरचाह दिन्छ। बच्चाले जे देख्छ, त्यही सिक्छ। आज तपाईंले गरेको व्यवहार भोलि तपाईंको बुढेसकालमा फर्केर आउँछ।
माया गर्नुहोस्, तर सीमाभित्र। सम्मान सिकाउनुहोस्, तर उमेर अनुसार। किनकि सही पालनपोषण भविष्यको सबैभन्दा ठूलो लगानी हो।
