वसन्त स्नानले पल्लवित
यी वसन्तमय भावनाहरू स्वयं एउटा कवितात्मक बीजझैँ लाग्छन्। यसबाट निबन्धको हरियो अरण्य उम्रिन सक्छ। म उमार्छु मनको कोठेबारीमा, जहाँ पहिल्यै बारबेर गरी सुरक्षित पारिएको छ। मल पर्याप्त हालिएको छ। पहाडको कुनाबाट कुलो खनेर पानीको सिँचाइ पनि राम्ररी गरिएको छ । त्यहाँ फुल्नुसम्म फूल फुल्ने छन्। सागसब्जी र कन्दमूलहरू पनि फल्ने छन्। वसन्त स्नानले उन्नत उत्पादनको प्रारम्भ गर्ने छ।
वास्तवमा वसन्त स्नान भन्नु नवजीवनतर्फको आत्मयात्रा हो। प्रकृतिको स्वरूपमा आएको परिवर्तन हो। वनस्पति पलाएर नयाँ जीवनको थालनीको बिहानी हो। यसरी वसन्त स्नानले पल्लवित प्रकृतिले तमाम मान्छे र पशुपक्षीलाई जीवनको यात्रामा सकुशल अवतरण गराउँछ।
त्यसैले यो क्रम नियमित क्रम हो। वसन्त आउँछ चुपचाप तर चमत्कार बोकेर। हिजोको शुष्क हाँगा आज हरियो मुस्कानले भरिन थाल्छ। नयाँ पालुवाहरूले प्रकृतिको छाती चिरेर जीवनको बिहानी घोषणा गर्छन्। कलिला, कलकलाउँदा मुना-मुजुराहरूले आकाशतर्फ उड्ने सपना देख्न थाल्छन्।
प्रकृति स्वयं एउटा विशाल उत्सवमा परिणत हुन्छ। त्यहाँ प्रत्येक पात, प्रत्येक फूल, प्रत्येक हावाको झोक्काले जीवनको गीत गाउँछ। शीतलहर पछि हट्छ। हिमपातको कठोरता पग्लिन्छ। न्यानोपनले पृथ्वीको काख तताउँछ। र, नवजीवन प्रवेश गर्छ- नरम पाइला टेकेर, आशाको उज्यालो बोकेर।
त्यही क्षण म पनि एकाबिहानै उठ्छु- शरीर मात्र होइन, मनलाई पनि स्नान गराउन। वसन्त स्नान मेरो लागि पानीमा डुबुल्की मार्नु मात्र होइन, पुराना थकावट, निराशा र भ्रमहरू धोएर नयाँ संकल्पको शुद्ध वस्त्र ओढ्नु हो। म नवजीवनको स्तुतिगान गाउन थाल्छु- चराहरूको चिरविरसँगै, फूलहरूको मुस्कानसँगै, हावाको मधुर स्पर्शसँगै।
जीवनले मलाई सत्मार्गमा हिँडाइरहोस् भन्ने प्रार्थना गर्छु। अन्धकारभन्दा उज्यालोलाई रोज्न सकूँ, स्वार्थभन्दा सेवामा रमाउन सकूँ, घृणाभन्दा प्रेममा फुल्न सकूँ। सत्य संकल्पको गोरेटोमा मेरो पाइला अघि बढोस् भन्ने कामना गर्छु।
त्यो बाटो सजिलो छैन- कहिले काँडाले घोच्छ, कहिले उकालोले थकाउँछ। तर, वसन्तले सिकाउँछ– कठोर जाडो पछि पनि फूल फुल्छन्। पीडापछि पनि जीवन मुस्कान फर्काउँछ। जब म वरिपरि हेर्छु, हरियालीले ढाकिएको प्रकृतिमा आफ्नै जीवनको प्रतिविम्ब देख्छु। जसरी रुखहरूले पुराना पात झारेर नयाँ पालुवा पलाउँछन्, म पनि हिजोका गल्ती र बोझ छोडेर आज नयाँ सोचका पातरूपी प्रतिभा फुलाउन चाहन्छु।
वसन्त स्नान एउटा कर्मकाण्ड होइन- यो आत्मशुद्धिको पर्व हो। नवप्रेरणाको आरम्भ हो। आशाको पुनर्जन्म हो। यस ऋतुमा म बुझ्छु- जीवन निरन्तर परिवर्तनको यात्रा रहेछ। प्रत्येक वसन्तले हामीलाई भन्छ- “फेरि उठ, फेरि फुल, फेरि उज्यालोतर्फ हिँड।”
नयाँ पालुवाको बिहानीसँगै मेरो हृदयमा पनि नयाँ उज्यालो उदाउँछ। मुना-मुजुराको उडानसँगै मेरो मन पनि सीमाभन्दा पर फैलिन खोज्छ। यसरी वसन्त प्रकृतिको पर्व होइन- यो मेरो अन्तरमनको उत्सव हो। जहाँ म नवजीवनसँग स्नान गर्छु, सत्यसँग हात मिलाउँछु र आशाको यात्रामा पुनः प्रस्थान गर्छु।
हिउँदका दिनहरू सम्झिँदा अहिले पनि शरीर सिरिङ्ग हुन्छ। कठ्याङ्ग्रिने जाडो, कुहिरोले ढाकिएको आकाश र चुपचाप सहेर बस्न बाध्य प्रकृति । त्यस जाडोले धेरै मुना-मुजुराहरूलाई बढ्न दिएन, धेरै सपनालाई अंकुराउन दिएन । कतिपय बोटहरू निःशब्द उभिए- जसरी पीडामा मौनता सँगालेर मानिस उभिन्छ।
तथापि वसन्त आयो। न्यानो घामले पृथ्वीको छाती छोएपछि सुस्तरी जीवन फर्किन थाल्यो। हिजो जमेका आशाहरू पग्लिए। टुसा पलाउँदै नयाँ मुजुरा हाल्दै, नयाँ पालुवा फेर्दै वनस्पतिमा जीवनको उत्सव जुर्मुरायो। वसन्त स्नानले धोइपखाली गरी नवजीवनको यात्रामा प्रवेश भयो। यसरी मुना-मुजुराहरू जुर्मुराउँदै उठ्न थाले- बाँच्ने आशा बोकेर, भोलिको उज्यालो खोज्दै।
कतै पातहरू फैलिन थाले- आफ्नो सीमा तोडेर ठूलो बन्न आतुर। कति कोपिलाहरू बसे- फल्ने, फुल्ने हतारमा। पूरै वनस्पति जगत् एउटा मौन खडेरीको सङ्घर्षपछि पुनर्जन्मको उत्सव मनाइरहेझैँ देखिन्थ्यो।
म त्यो दृश्य हेरिरहँदा प्रकृतिको परिवर्तन मात्र देखिरहेको थिइनँ- म आफ्नै जीवन पढिरहेको थिएँ। बिहानको ठिहीमा कक्रिएको शरीर न्यानो घाम ताप्दाताप्दै बितिजाने छोटो हिउँदे दिन। हिउँदजस्तै मेरा विगतका दिनहरू पनि कठोर थिए। अभाव, संघर्ष, असफलता र थकानले धेरैपटक मेरो मनलाई पनि जमाइदिएको थियो।
धेरै सपना पलाउन पाएनन्। धेरै चाहनाहरू मुना हुनुअघि नै ओइलाए। तर आज, वसन्तसँगै मेरो मनमा पनि न्यानोपन पसिरहेको थियो। म आफैँसँग भन्छु- यदि प्रकृतिले हिउँद सहेर वसन्त पाउन सक्छ भने म किन विगतका पीडामा अड्किरहनु?
यी फैलिँदै गरेका पातहरूले मलाई सानो घेराभित्र सीमित भएर होइन, खुला आकाशतर्फ बढ्नुपर्छ भन्छ। यी कोपिलाहरूले धैर्य गरेपछि नै फूल फुल्छ, पीडापछि नै फल लाग्छ भन्छ। म यिनै सुन्दर परिवर्तनको साक्षी बनेर आफूलाई पनि रूपान्तरण गर्ने प्रण गर्छु
पुराना थोत्रा स्मृतिहरू! त्यहाँ हारका घाउ थिए। त्यहाँ निराशाका धर्साहरू थिए। ती सबैलाई वसन्तको नदीमा बगाइदिन्छु। अब म सग्लो यात्रातर्फ अघि बढ्न चाहन्छु। जहाँ हरेक दिन नयाँ पालुवा होस्, हरेक प्रयास एउटा कोपिला होस् र हरेक सफलता एउटा फूल। नियात्राका यी बाटाहरूमा म भौगोलिक दूरी पार गरिरहेको छैन- म मनको उचाइ चढिरहेको छु।
प्रकृतिसँगै हिँड्दा जीवन कुनै स्थिर अवस्था होइन, यो निरन्तर बग्ने नदी हो भन्ने बुझ्छु। कहिले हिमपातको कठोरता, कहिले वसन्तको कोमलता। तर बगिरहनु नै यसको धर्म रहेछ। सहनु र सिर्जनशील हुनु नै यसको कर्म रहेछ।
आज वसन्त स्नानपछि मेरो शरीर मात्र होइन, मेरो सोच पनि उज्यालो भएको छ। वसन्त स्नानले पल्लवित र पुष्पित हुँदै म जीवनको यात्रामा छु। म अब कुनै मुटु कमाउने जाडोमा थुनिन चाहन्न। म वर्तमानको वसन्त अँगालेर भविष्यको हरियालीतर्फ अघि बढ्न चाहन्छु। जसरी प्रकृति हरेक वर्ष नयाँ भएर फर्किन्छ, म पनि हरेक दिन नयाँ भएर बाँच्ने संकल्प गर्छु।
यसरी, वसन्त ऋतु आगमनका साथ मेरो जीवन जीवन्त बन्न अग्रसर रह्यो। र, स्नान पानीमा भएन- यो मनको पुनर्जागरण बन्यो।
