मधेशमा ६ महिनामै २५ सयभन्दा बढी व्यक्ति बेपत्ता
जनकपुर । मधेश प्रदेशमा व्यक्तिहरू हराउने सङ्ख्या डरलाग्दो देखिएको छ। मधेश प्रदेश प्रहरी कार्यालयले बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै पछिल्लो ६ महिनाको तथ्याङ्क सार्वजनिक गरेको हो।
प्रहरी प्रवक्ता कमल थापाका अनुसार पछिल्लो ६ महिनामा मात्र मधेश प्रदेशबाट २ हजार ५७२ जना हराएका छन्। जसमध्ये पुस महिनामा मात्रै १ हजार ४४८ जना सम्पर्कविहीन भएका थिए। हराएकामध्ये हालसम्म १ हजार ५०१ जना फेला परे पनि अन्य अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ।
जेनजी आन्दोलनको क्षति विवरण पत्रकार सम्मेलनमा प्रवक्ता थापाले ‘जेनजी आन्दोलन’ का क्रममा भएका क्षतिहरूको विवरण पनि प्रस्तुत गरे। उक्त आन्दोलनका क्रममा मधेश प्रदेशमा ४ जनाको मृत्यु भएको थियो। आन्दोलनकारीले २३४ वटा सरकारी कार्यालयमा तोडफोड र क्षति पुऱ्याउँदा ५७ करोड ३५ लाख ५२ हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ। यस्तै, प्रहरीका सवारी साधनहरूमा मात्रै २ करोड ६ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।
कैदीबन्दी र बाल सुधार गृहबाट फरार आन्दोलनकै समयमा मधेश प्रदेशका विभिन्न कारागारबाट १ हजार ४५ जना कैदीबन्दी फरार भएका थिए। तीमध्ये ५७९ जना पक्राउ परे पनि ४६६ जना अझै फरार छन्। यस्तै, बाल सुधार गृहबाट फरार भएका ६८ जनामध्ये २० जना पक्राउ परेका छन् भने ४८ जना अझै सम्पर्क बाहिर रहेका छन्।
निर्वाचन सुरक्षा तयारी आगामी निर्वाचनका लागि मधेश प्रदेशका ३२ निर्वाचन क्षेत्रमा २ हजार १६० मतदान स्थल तोकिएका छन्। जसमध्ये १ हजार २४६ वटा मतदान स्थल ‘अतिसंवेदनशील’ रहेको प्रवक्ता थापाले बताए। ७५५ स्थल संवेदनशील र १५९ वटा सामान्य सूचीमा राखिएका छन्। सुरक्षा अवस्थालाई ध्यानमा राख्दै प्रहरीले ती स्थानहरूमा आवश्यक सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ।
