ग्यास र तेल : कृत्रिम अभाव सिर्जना गरे कारबाही हुने
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव र खाने तेलको अस्वाभाविक मूल्यवृद्धिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विभागले उपभोक्ताबाट व्यापक गुनासो आएपछि बजारको सुक्ष्म अनुगमन र विश्लेषण सुरु गरेको छ।
विभागका निर्देशक नरहरि तिवारीले अहिले देशमा बाटोघाटो अवरोध वा कुनै विपद्को अवस्था नभए पनि अन्तर्राष्ट्रिय बजारका कारण आपूर्तिमा केही समस्या देखिएको बताए। विशेषगरी अमेरिकी डलरको भाउ बढेर १४८ रुपैयाँ पुग्नु र अन्तर्राष्ट्रिय व्यापारमा आएका नीतिगत परिवर्तनले आपूर्ति शृङ्खलामा असर पारेको विभागको प्रारम्भिक अनुमान छ।
‘अहिले निर्वाचन वा विपद्का कारण सामान रोकिनुपर्ने अवस्था छैन,’ निर्देशक तिवारीले भने, ‘तर भन्सारको तथ्याङ्क हेर्दा अघिल्लो वर्षको तुलनामा ग्यास आयातमा केही कमी देखिएको छ र भारतमा पनि केही प्राविधिक समस्या रहेको बुझिएको छ।’
निर्देशक तिवारीले बजारको यो अस्थिरताको फाइदा उठाएर कसैले पनि कृत्रिम अभाव सिर्जना गर्न नहुने बताए। यदि कुनै व्यापारी वा व्यवसायीले आपूर्तिमा अवरोध गर्ने, कार्टेलिङ गर्ने वा अस्वाभाविक मूल्य वृद्धि गरेर उपभोक्तालाई सास्ती दिएको भेटिएमा कानुन बमोजिम कडा कारबाही गरिने उनले चेतावनी दिए। विभागले बजारलाई त्रसित नपार्न र आपूर्ति व्यवस्था सहज बनाउन सबै सरोकारवालालाई आग्रह गरेको छ।
