किन बढिरहेको छ सुनको मूल्य ?

काठमाडौँ । नेपाली बजारमा सुन र अमेरिकी डलरको मूल्यले हरेक दिन नयाँ रेकर्ड बनाइरहेको छ। सोमबार सुनको मूल्यमा एकैदिन ५ हजार २०० रुपैयाँको भारी वृद्धि भई प्रतितोला ३ लाख ९ हजार रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो। सुनसँगै चाँदीको मूल्य पनि बढेर प्रतितोला ६ हजार ७६५ रुपैयाँ पुगेको छ।

विश्व बजारमा सुनको मूल्य बढ्नु र नेपाली मुद्रा डलरको तुलनामा कमजोर हुनु नै मूल्य वृद्धिको मुख्य कारण भएको नेपाल राष्ट्र बैंकका पूर्व कार्यवाहक गभर्नर कृष्णबहादुर मानन्धरले बताए।

अमेरिकाको आन्तरिक राजनीति, व्यापार नीतिमा देखिएको अस्थिरता र विभिन्न मुलुकसँगको तनावका कारण डलरप्रति लगानीकर्ताको आकर्षण घटेको छ। डलर कमजोर भएपछि लगानीकर्ताले सुरक्षित मानिएको धातु सुनमा लगानी बढाएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र चीनबीचको व्यापारलाई लिएर दिएको चेतावनी तथा ग्रिनल्यान्डलाई लिएर अमेरिका र नाटो बीचको तनावले अन्तर्राष्ट्रिय बजारमा हलचल ल्याएको छ।

अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा (भारु) निरन्तर कमजोर बनिरहेको छ। भारुसँग स्थिर विनिमय दर रहेको नेपाली रुपैयाँ पनि कमजोर हुँदा सुन आयात महँगो पर्न गएको हो। सोमबार एक अमेरिकी डलरको बिक्री दर १४७.४१ रुपैयाँ पुगेको छ।

चीन, भारत, ब्राजिल र पोल्यान्ड जस्ता राष्ट्रहरूले आफ्नो वैदेशिक सञ्चितिमा सुनको हिस्सा बढाउने रणनीति लिएका छन्, जसले माग र मूल्य दुवै बढाएको छ।

सुनको मूल्य अत्यधिक बढेपछि बजारमा गरगहनाको माग शून्यप्रायः भएको व्यवसायीहरूले बताएका छन्। माग नभएकै कारण बैंकहरूसँग १३० किलो सुन स्टक भए पनि व्यवसायीले खरिद गरेका छैनन्। यता, बजारमा चाँदीको भने कृत्रिम अभाव सिर्जना गरिएको दाबी गरिएको छ। महँगो मूल्यका कारण ग्राहकहरू औपचारिक बजारभन्दा अनौपचारिक कारोबारतर्फ आकर्षित हुन थालेको देखिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पहिलो पटक सुनको मूल्य प्रतिऔंस ५ हजार डलर नाघेको छ। सन् २०२५ को तुलनामा यो ६० प्रतिशतको वृद्धि हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *