इलाममा पाँचौँ समता साहित्य उत्सव हुँदै

इलाम । शब्द, सिर्जना र प्रेरणाको साझा उत्सवका रूपमा स्थापित समता साहित्य उत्सवको पाँचौँ संस्करण यही माघ १५ गते इलाममा आयोजना हुने भएको छ। विद्यार्थीहरूमा नेपाली भाषा, साहित्य र सिर्जनात्मक चेतनाको विकास गर्ने उद्देश्यले समता स्कुल पूर्वी कन्सोर्टियमले २०७६ सालदेखि यो कार्यक्रम निरन्तर गर्दै आएको छ।

हरेक वर्ष फरक–फरक जिल्लामा आयोजना हुने यो उत्सव युवा स्रष्टा र विद्यार्थीका लागि एउटा सशक्त मञ्च बनेको छ। यस वर्ष पनि उत्सवमा ख्यातिप्राप्त कवि तथा साहित्यकारहरूले आफ्ना सिर्जना र अनुभव प्रस्तुत गर्नेछन्। यसले नयाँ पुस्तामा भाषा र साहित्यप्रति अभिरुचि जगाउने विश्वास आयोजकले लिएको छ।

यस पटकको उत्सवमा नेपालका झापा, इलाम, पाँचथर, ताप्लेजुङ र भारतको दार्जीलिङ तथा मिरिकबाट दुई दर्जनभन्दा बढी साहित्यकार सहभागी हुनेछन्। कार्यक्रममा महेन्द्र स्याङ्बो, विवश बलिभद्र कोइराला, कविता राई गाउँले, समदर्शी काइँला, प्रतिभा पौडेल, प्रकाश थाम्सुहाङ, डा. देवी क्षेत्री दुलाल र गायक राजेश चाम्लिङ राई लगायतको उपस्थिति रहने जानकारी आयोजकले दिएको छ।

साहित्यिक सत्रका साथै विभिन्न जिल्लाका विद्यार्थीहरूबीच ‘अन्तर समता कविता वाचन प्रतियोगिता’ समेत आयोजना गरिनेछ। यसले विद्यार्थीलाई आफ्ना भावना व्यक्त गर्न र सिर्जनात्मक क्षमता बढाउन सघाउनेछ। कार्यक्रमको संयोजन पहिलो संस्करणदेखि नै इलामे कवि विमल वैद्यले गर्दै आएका छन्।

सन्तोष श्रेष्ठको अगुवाइमा रहेको समता स्कुल पूर्वी कन्सोर्टियमले बौद्धिक र शैक्षिक गतिविधिलाई प्राथमिकता दिँदै आएको छ। विद्यार्थी तहबाटै साहित्यिक संस्कार निर्माण गर्न यो उत्सवले महत्वपूर्ण भूमिका खेल्ने आयोजकले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *