लोकरञ्जनको आगोमा लोकतन्त्र: मुसोलिनीदेखि बालेनसम्म

पपुलिज्म- नेपाली शब्दमा यसको अर्थ लगाउने मूल प्रवाहका कथित सञ्चारमाध्यमले कहिले यसलाई ‘प्रियतावाद’ भनेका छन्, कहिले ‘लोकरञ्जन’। तर, यो शब्दमा निहित नकारात्मक आशयलाई स्पष्ट गरिदिने खाँटी शब्द मैले नेपाली शब्दकोशमा फेला पार्न सकिनँ। भाषाशास्त्रीहरू व्याकरणको लाठीचार्ज गर्न स्वतन्त्र छन्। मैले यो लेखमा पपुलिज्म नामको आयातित अङ्ग्रेजी शब्दलाई ‘लोकरञ्जन’ भन्न रुचाएँ।

लोकरञ्जन एक्काइसौँ शताब्दीमा आएको प्राविधिक विकासले ल्याएको मनोभाव होइन। राजनीतिक लोकरञ्जनको खेती उहिलेदेखि थियो। अहिले बाँध फुटेको मात्रै हो। सामाजिक सञ्जालको नाममा अहिले उदाएको अभिव्यक्ति स्वतन्त्रताको अधिकारले विस्तृत रूप लिनु अर्कै कुरा हो। तर, अभिव्यक्ति स्वतन्त्रता सधैँ सत्य हुँदो रहेनछ। सामाजिक सञ्जाल नामको प्रविधिले चोर र प्रहरीलाई एउटै विधि प्रयोग गरेर आफ्नो अभीष्ट साध्ने साधन दिएको छ। यो प्रविधिको कुरा हो। प्रविधि कुनै पनि बेला असफल हुन सक्छ।

तर, लोकरञ्जनको रणनीति प्रविधिको विकास हुनुभन्दा पहिले पनि थियो, प्रविधि निकम्मा भएको भोलिपल्ट पनि यसको सान्दर्भिकता र उपादेयता कायम रहनेछ। यो बिल्कुलै नयाँ भूमण्डलीय वायु होइन। अहिलेको प्राविधिक विकासभन्दा पहिले, दोस्रो विश्वयुद्धताका पनि जर्मनी, इटाली र जापानमा लोकरञ्जनको प्रभाव व्यापक थियो। त्यो बेला आफ्नो प्रभुत्व जमाउन प्रयोग गरिएको लोकरञ्जनको हतियार अहिले जनता वर्गल्याउन प्रयुक्त हुँदैछ।

टुप्पाबाट पलाएका चमत्कारिक नेताहरू आफूले जनभावनाको प्रतिनिधित्व गरेको दाबी गर्दैछन्। तर, उनीहरूसँग आफूले देखाउन सक्ने कुनै आस्था, विचार र भविष्यको मार्गचित्र छैन। यसको शोधभर्नास्वरूप आफूलाई अनुमोदित गर्न पुरानाको दानवीकरण गर्नु उनीहरूको बाध्यात्मक रणनीति हो। आफ्नो स्वरूप सुन्दर नहुँदा अर्काको कुरुप चित्र भजाउने हो। राजनीतिमा यो छल सधैँ ग्राह्य रहिआएको छ।

माथि भनिएझैँ, नेपालमा लोकरञ्जनको चम्किलो घोडा चढेर बुर्कुसी मार्दै गरेको यो अभ्यास नयाँ होइन। विश्वमा यस्ता अभ्यास धेरै भएका छन्। इटालीका बेनितो मुसोलीनी बीसौँ शताब्दीको सुरुवातमा सत्ताको शिखर चढ्दै गर्दा अहिलेको जस्तो फेसबुक र ट्विटर थिएनन्। तर उनीसँग चमत्कारिक वाक्पटुता थियो। सङ्कीर्ण राष्ट्रवाद उनको जनता लोभ्याउने नारा थियो र आफूलाई ‘आम मान्छे’का रूपमा प्रस्तुत गर्ने कला पनि थियो। तत्कालीन ‘राजनीतिक सम्भ्रान्त र इमानदार श्रमजीवी जनता’का बीचमा एक मनोवैज्ञानिक खाडल खन्न उनी सफल भए। राजनीतिमा आउनुअघि मुसोलिनी एक पत्रकार थिए।

दोस्रो विश्वयुद्धका जर्मन तानाशाह हिटलर

त्यो बेला जर्मन सेनाका एक सामान्य हुलाकी थिए। प्रश्न गर्न हामी स्वतन्त्र छौँ, तर इतिहासको कालखण्डमा जे हुन्छ, त्यो हुन्छ। मान्छे घटनाको साक्षी होइन, केवल समय साक्षी हो। समयले भन्छ- हिटलरले आफ्ना सेना र समर्थकको मगज लोकरञ्जनको आगोमा भुटिसकेका थिए। सन् १९३३ मा चान्सलर भएपछि सन् १९४५ मा बङ्करमा आत्महत्या गरुन्जेल हिटलरको हतियार गोलाबारुद होइन, लोकरञ्जनको मनोवैज्ञानिक प्रभाव थियो।

हार्भर्ड युनिभर्सिटीले निकालेको पछिल्लो ‘ग्लोबल पपुलिज्म डाटाबेस’का अनुसार सन् २००० सम्म विश्वका केवल १२ करोड मतदाता लोकरञ्जक नेताहरूबाट शासित थिए। सन् २०१० मा आइपुग्दा यी भेडातुल्य मतदाताको सङ्ख्या विश्वव्यापी रूपमा दुई अर्ब पुगेछ। लोकरञ्जक नारा दिएर सत्ता सुमर्ने जुनसुकै सरकार वा मुलुकका नागरिकको जीवनमा कुनै सकारात्मक परिवर्तन आएको छैन।

अमेरिका अमेरिका हो, ऊ अरूको पीडा महसुस गर्दैन। अमेरिकालाई साथ दिएको मूल्य अहिले डोनाल्ड ट्रम्पको शासनमा युरोपले चुक्ता गर्दैछ। टोनी ब्लेयरको नाममा खुलेको एक रणनीतिक प्रतिष्ठानले दक्षिण र दक्षिण-पूर्वी एसियाका हकमा गरेको अनुसन्धानले भन्छ- जो पश्चिमी रणनीति ‘कम्प्लाई’ अर्थात् स्वीकार गर्दैन, त्यसको पतन निश्चित छ।

नरेन्द्र मोदीको डोनाल्ड ट्रम्पसँगको अङ्कमालले भारतलाई के दियो? एउटा लोकरञ्जक सरकारको नायकले अर्को गोलार्द्धको लोकरञ्जक सरकार प्रमुखलाई धम्की दिँदैछ। डोनाल्ड ट्रम्पको हिंस्रक राष्ट्रवादले विश्वमा विश्वासको सङ्कट उत्पन्न गरेको छ। अमेरिकामा एउटा स्थापित मान्यता छ- ‘अमेरिकी राष्ट्रपति विश्वकै शक्तिशाली मान्छे हो, तर उसले त्यही मात्र गर्न सक्छ जो अमेरिकी संसद्ले अनुमति दिन्छ।’

अन्तिममा, कुरा नेपालको भदौ २३ को त्यो दिन नेपाल केपी ओलीको सरकारले चलाएको थिएन। देश लोकरञ्जक सामाजिक सञ्जालले चलाएको थियो। अहिलेका अनुमानित प्रधानमन्त्री बालेन्द्र शाहले पर्दा पछाडिबाट भदौ २४ को तानाबाना बुनेका थिए। बालेन्द्र शाह त्यो हत्याकाण्डको मतियार हुन्। यो एक अप्रिय र अलोकप्रिय सत्य हो। अर्को सत्य के हो भने, केपी ओली र आरजु देउवाले ‘बीआरआई’ सम्झौता नगरेको भए पुरानो सरकार यथावत् रहने थियो।

नयाँ भनिएकाहरूसँग न नयाँ आचार छ, न विचार। रास्वपाको ‘निलो स्याल’ रूपी नेताको कर नतिरेको मात्र होइन, सामान्य मानिसको बचत लुटिएको पैसामा रजाईं देखिएको छ। मुलुकको न्यायिक प्रणाली कसले चलाएको छ? न्यायालय कातर छ। रास्वपा नामको दललाई सेनाको अघोषित समर्थन छ।

भारतलाई अल्झाएर चीनलाई घेर्ने एक रणनीतिक आधारमा खडा गरिएका बालेन्द्र शाहको हैसियत के हो? लोकरञ्जक हुने बहानामा महानगरमा गुट्खा प्रतिबन्ध लगाउँदा ताली बज्यो, तर आज गुट्खा व्यापारीको गाडी चढेर हिँड्दा किन प्रश्न उठ्दैन? हामीले चलाउन नसकेको देश विदेशीले चलाउने हो। विदेशीलाई परिपक्व र देशभक्त नेताभन्दा ‘नौटङ्की’ लाभप्रद हुन्छ। हामी नौटङ्की शासनको युगमा बाँच्न अभ्यस्त हुने बेला भयो।

(रूपान्तरण)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *