मिथ्या आभास

दिनहरू एक–एक गर्दै
पलभरमै उडेर जान्छन्,
रातहरू सपना बोकेर
आँखाभरि आउँछन्।
जिन्दगीको गोरेटोमा
एउटा यात्री एक्लै उभिएर
अनुभवी रमिता हेर्दैछ।

सरर बग्ने शीतल हावाले
उसको गालामा बिस्तारै
सुम्सुम्याउँदै सोध्छ– ‘कहाँ जाने यात्री हौ?’
ऊ झसङ्ग झस्किन्छ,
उसँग उत्तर हुँदैन,
अन्योलमा पर्छ।

उसलाई थाहा छैन
उसको यो यात्रा
कहाँसम्मको हो? हिजोलाई सम्झिँदै,
आजलाई स्वीकार्दै,
भोलिको पर्खाइमा
लगातार बगिरहने
उसको जिन्दगीका
कैयौँ अविस्मरणीय
यादहरू उसँग हुन्छन्।

उसको साथी बनेर
उससँग खेल्नलाई,
उसँग रमाउनलाई,
उसको ओठको
मुस्कान बनेर,
उसको आँखाको
आँसु बनेर,
उसको छातीको
पीडा बनेर।

कति तिता,
कति मीठा
अनुभव बनेर,
उसको जीवनको
छाया बनेर,
अधुरो र अतृप्त
माया बनेर।

अदृश्य, अमिट,
अटल, अव्यक्त
अज्ञात स्पन्दनले
मनलाई भिजाउँदै,
न्यानो तथा अभिन्न
अनुभूतिको सागर
अनन्त–अनन्तसम्म
बगिरहन्छ, बगिरहन्छ।

जिन्दगीको यात्रामा
कहिले सपनाजस्तै
जिन्दगीदेखि टाढा,
कहिले अभिलाषाजस्तै
जिन्दगी सँगसँगै,
आँखाको नानीमा खेल्दै,
ढुकढुकीसित रमाउँदै
मीठा–मीठा कल्पना
र, परिकल्पनाहरूको– मिथ्या आभास।

-गान्तोक, सिक्किम


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *