वसन्तको उज्यालोमा शब्दको आराधना
वसन्तको पहिलो श्वाससँगै आज बिहान मेरो आँगनमा सरस्वतीको उज्यालो ओर्लिएको छ। अक्षरकी देवीको स्मरणले मनभित्र सुषुप्त रहेका अनुभूतिका ढोका एकाएक खुलिदिएका छन्। आज कुनै साधारण दिन होइन। यो सिर्जनाको जन्मोत्सव हो, साधनाको स्वीकारोक्ति हो र भविष्यप्रतिको मौन संकल्प हो। यही जन्मदिन, यही स्वीकार र संकल्पको अविराम यात्राले मलाई मेरो गन्तव्यतिर लैजाने छ।
सरस्वती पूजा भनेको फूल, फलफूल, धूप र दीपको विधि मात्र होइन, हुनु हुँदैन। यो त सिर्जनाकर्मीको आत्मपूजा हो। आस्थापूर्ण आराधनाको अवसर पनि हो। कलम, क्यानभास, ब्रस, शब्द, बाजागाजा आदि औजारको पूजा–प्रार्थना गर्ने दिन हो। यी सबै मेरा औजार हुन्, मेरा सहयात्री हुन्। आज म तिनलाई श्रद्धाले सुम्सुम्याउँछु, किनकि तिनैको सहाराले मैले आफूलाई चिनाएको छु, आफूलाई अभिव्यक्त गरेको छु।
बालक आज अक्षरसँग चिनिन्छ। वयस्क आज आफ्नो अस्तित्वसँग साक्षात्कार गर्छ। वयोवृद्ध आज आफ्ना सन्ततिलाई वसन्तको कथा सुनाउँछ। र, म आज आफ्ना कृतिहरूसँग आमनेसामने उभिन्छु। ती मेरा सन्तान हुन्, मेरा समयका साक्षी हुन्। मेरा अनुभूतिका दर्पण हुन्, अनुभूतिका अवतरण हुन्।
‘पीडाका अनुभूतिहरू’ देखि लिएर ‘इन्द्रेणी सौन्दर्य’ सम्म आइपुग्दा, यी किताबहरू केवल कागजका थान होइनन्। यी मेरा बचाइका तहहरू हुन्- कहिले पीडाले भिजेका, कहिले सौन्दर्यले उज्यालिएका। कहिले खुसीको उत्सवमा रमाइरहेका। कहिले थाकेर सुस्केराहरूमा पसिना पुछिरहेका। कहिले सपनामा हिँडिरहेका, कहिले विपनामा हाँसिरहेका!
‘संवेदनाका स्वरहरू’ को संयुक्त निबन्ध कृतिमा मैले मनका कम्पन सुनेँ, ‘क्यानभासका तरङ्गहरू’ र ‘आकृतिको आवाज’ मा कला–निबन्धको मौन भाषा लेखेँ। ‘राराकी अप्सरा’, ‘प्रणय र पाइला’ तथा ‘अन्नपूर्णाका विम्बहरू’ मा मेरो यात्राले दिएको अनुभूतिहरूको दृष्टि टिपेँ। यी मेरा नियात्राका उडान हुन्। यिनमा मैले प्रकृति देखेँ, संस्कृति र जीवनशैलीलाई भेटेँ। यिनैमा म अभिव्यक्त भएँ।
यसैगरी कला विषयक जीवनी-कृतिका पानामा अग्रज कलाकारहरूको जीवन र संघर्षलाई आदरका साथ उतारेँ। त्यस्तै ‘मृत्यु उत्सव’, ‘सुन्दरीचोक’ र ‘अर्धकदको अवसान’ निबन्धहरूमा समाज, कला र मनको संवाद खोजिरहेँ। यी सबै मेरा उपलब्धि हुन्। तर अन्तिम होइनन्। यी मेरा गन्तव्य होइनन्। यी त यात्राका विश्रामस्थल मात्र हुन्।
आज सरस्वती माताको जन्मदिनमा म सन्तुष्ट छु, तर पूर्ण छैन। किनकि लेखन भनेको सधैँ अधुरोपनको स्वीकारोक्ति हो। अझ नयाँ, अझ चखिलो, अझ गहिरो लेख्ने तिर्खाले लेखकीय कर्मलाई सक्रिय पारिराख्ने एउटा दृढ संकल्पको यात्रा। यो र यस्तो यात्राको क्रमागत सिलसिला अझै मरेको छैन, मर्दैन, मर्ने छैन र मर्नु हुँदैन। त्यसैले म लेखिरहेको छु र लेखिरहने छु। लेखनको मेरो यात्राले मलाई सधैँ जाँगरिलो राख्ने छ, मलाई बिउँझाइरहने छ।
आजको शुभ बिहान म आफैँसँग एउटा शान्त संकल्प गर्छु- ‘कालापत्थरबाट सगरमाथा नियाल्दा’ को यात्रात्मक अनुभूति र ‘इन्द्रेणी सौन्दर्य’ को निबन्धात्मक उज्यालो चाँडै पाठकसामु ल्याउने छु।
वसन्त सुरु भएको छ। शब्द फेरि वसन्त आगमनसँगै पलाउँदैछन्। र, म फेरि सिर्जनाको आराधनामा बसेको छु। यो आराधना कसैप्रति आग्रह र पूर्वाग्रहको प्रस्तुति होइन। मेरै जीवनयात्राको सुमधुर लयको निरन्तरताको आराधना हो। जहाँ मैले बिसाएपछि फेरि बसेको बसेकै होइन। केही छिनको विश्रामपछि उल्लासले उठ्दै, उत्साहले पाइला चाल्दै, सिर्जनात्मक नवजीवनमा प्रवेश गर्नेछु। म यही यात्रामा हिँड्ने छु। किनभने आज श्रीपञ्चमी, अक्षरको उज्यालोमा, अनुभूतिको अभिलेखमा आफैँले सकारात्मक संकल्प गर्ने दिन हो।
श्रीपञ्चमीको बिहान सधैँजसो अरू दिनभन्दा उज्यालो हुन्छ। घामको उज्यालोले मात्र होइन- अक्षरको तापले, ज्ञानको आशीर्वादले, चेतनाको निर्मलताले। आजको दिन कुनै साधारण मिति होइन, यो त अक्षरले आफूलाई देवत्वको काखमा अर्पण गर्ने क्षण हो। विद्याकी देवी सरस्वतीको प्रतिमामा अर्पित फूलहरूभन्दा पहिला, मनभित्रका अक्षरहरू फुल्छन्। श्वेत वस्त्रमा सजिएकी देवी मूर्ति मात्र होइनन्- उहाँ त हाम्रा सिर्जना–कृतिहरूको मौन साक्षी हुनुहुन्छ, हाम्रा असफल पाण्डुलिपिका आँसु पनि जान्ने र सफल कृतिको पहिलो मुस्कान पनि अनुभूत गर्ने।
आज मेरा लागि पुस्तकहरू कागजका थुप्रा होइनन्। तिनमा मेरा हिँडाइहरू छन्, थकाइका सुस्केरा र पाइलाका डोबहरू छन्। अनुभूतिका श्वास र भावनाका प्रवाह छन्। कालापत्थरको चिसो हावा, माटोको गन्ध, मान्छेहरूको कथा र समयसँगको संवाद छ।
श्रीपञ्चमीको दिन ती कृतिहरूलाई सम्झिँदा लाग्छ- अक्षरबाट जन्मिएका, अनुभूतिबाट हुर्किएका यी पनि त मेरा सन्तान हुन्। अक्षरारम्भको दिन बालकले ‘क’ लेख्दा जति पवित्रता हुन्छ, लेखकले आज नयाँ संकल्प गर्दा उस्तै पवित्रता चाहिन्छ। कलम उठाउनुअघि मनलाई शुद्ध पार्नुपर्ने दिन यही हो। किनकि अक्षर तब मात्रै जीवित हुन्छ, जब त्यो अहंकारबाट होइन, आस्थाबाट जन्मिन्छ।
वास्तवमा श्रीपञ्चमी नयाँ कामको घोषणा हो। अझ नलेखिएका पानाहरूको आमन्त्रण हो। अझ नहिँडिएका बाटाहरूको यात्रा शुभारम्भको संकल्प र संकेतको दिन हो। आजको दिन म फेरि एउटा यात्राको पहिलो पाइला टेक्छु- कुनै नक्सा नबोकी, कुनै हतार नगरी, केवल सरस्वतीको मौन आशीर्वाद लिएर। अक्षर, शब्द, अनुभूति र भावनाहरू सँगालेर हिँड्छु।
यो दिन शुद्ध छ- किनकि यहाँ स्वार्थभन्दा संकल्प ठूलो हुन्छ। यो दिन पवित्र छ- किनकि यहाँ शब्दभन्दा भाव गहिरो लाग्छ। त्यसैले यस दिन कुनै कार्य गर्न साइत हेर्नु पर्दैन। वसन्त आगमनको प्रथम दिन, सरस्वती माताको जन्मदिन श्रीपञ्चमीको दिन, पवित्र शुभदिन। यही शुभ दिनमा शुभ संकल्प गर्नु आफैँमा शुभयात्राको शुभारम्भ पनि हो।
अतः श्रीपञ्चमीको दिनले मलाई हरेक वर्ष सम्झाउँछ- लेखन पेसा होइन, यो त साधना हो। अक्षर चिह्न होइन, यो त जीवनको उज्यालो हो। म अझै मेरो कर्ममा समर्पित हुन्छु। म अझै आफूलाई व्यक्त गर्छु। म अझै सक्रिय हुन्छु।
आज विद्याकी देवी सरस्वतीको पूजाआजा गरी मनाइने एउटा पृथक् पर्व। वसन्त आरम्भको शुभ दिन। आज देवीको चरणमा म एउटा मात्रै प्रार्थना राख्छु- मेरो कलम सधैँ सत्यतिर हिँडोस्, मेरा अक्षरले मानिस छुऊन् र मेरा कृतिहरू समयभन्दा अलिकति माथि उठ्न सकून्।
श्रीपञ्चमीको यही नै सार हो- अक्षरमा आस्था, यात्रामा संकल्प र लेखनमा पवित्रता। किनभने वसन्तको उज्यालो आलोकमा शब्दको आराधना गर्ने दिन, आफ्ना औजारहरूको पूजा गर्ने दिन, विद्याकी देवीको स्तुति गाउने दिन हो।
