शैक्षिक भ्रमणमा आएको बस दुर्घटना: ५ जनाको मृत्यु, १२ घाइते

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-१३ स्थित जिरोप्वाइन्टमा आइतबार दिउँसो भएको बस दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ। भेडेटारबाट धरानतर्फ आउँदै गरेको बस अनियन्त्रित भई दुर्घटना हुँदा हताहती भएको हो। जनकपुरबाट भेडेटारमा शैक्षिक भ्रमणका लागि आएको को १ ख ७११९ नम्बरको ‘इन्टरनेशनल टेम्स एकेडेमी’ को बस दुर्घटना भएको हो।

सुनसरी प्रहरी प्रमुख एसपी केशव थेबेका अनुसार दिउँसो सवा ४ बजेतिर बस सडक छेउमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरको सटरमा सञ्चालित ‘न्यू सभा मेडिकल’ मा छिरेर ठोक्किएको थियो। दुर्घटनामा ५ जनाकै घटनास्थलमा मृत्यु भएको हो। मृतकहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा अन्य १२ जना यात्रु घाइते भएका छन्। घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय धरानका डीएसपी भिषणबाबु राईको कमान्डमा २० जनाको प्रहरी टोली खटिएर उद्धार कार्य र दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ।

राजमार्गको ओरालो बाटोमा बस अनियन्त्रित हुनुको कारण प्राविधिक गडबडी वा तीव्र गति हुनसक्ने अनुमान गरिएको छ। थप विवरण आउन बाँकी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *