घट्यो धान उत्पादन
फाइल तस्बिर
काठमाडौं । नेपालको अर्थतन्त्र र खाद्य सुरक्षाको मेरुदण्ड मानिएको धान बालीको उत्पादनमा यस वर्ष गिरावट आएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को प्रारम्भिक अनुमान अनुसार धानको उत्पादन, क्षेत्रफल र उत्पादकत्व तीनै सूचकमा गत वर्षको तुलनामा कमी देखिएको हो।
मन्त्रालयका अनुसार यस वर्ष ५५ लाख ५ हजार १ सय २६ टन धान उत्पादन हुने अनुमान गरिएको छ, जुन गत वर्षको तुलनामा ४.२० प्रतिशतले न्यून हो। गत आव २०८१/८२ मा ५७ लाख ५५ हजार ४ सय ६७ टन धान उत्पादन भएको थियो। यस्तै, धान खेती गरिएको क्षेत्रफल पनि ३.८ प्रतिशतले घटेर १३ लाख ६७ हजार ७२ हेक्टरमा सीमित भएको छ। प्रतिहेक्टर उत्पादकत्वमा पनि १.१६ प्रतिशतले ह्रास आउँदै ४.१४ टन कायम भएको मन्त्रालयले जनाएको छ।
धान बालीको क्षेत्रफल र उत्पादन घट्नुमा मन्त्रालयले बहुआयामिक कारणहरू औँल्याएको छ। पहाडी क्षेत्रमा बढ्दो बसाइँसराइ र वैदेशिक रोजगारीका कारण खेतीयोग्य जमिन बाँझो रहनु तथा कृषकहरू फलफूल र नगदे बालीतर्फ आकर्षित हुनुलाई मुख्य कारण मानिएको छ।
तराई र सहरी क्षेत्रमा बढ्दो खण्डीकरणका कारण खेतीयोग्य जमिन भौतिक पूर्वाधारमा प्रयोग हुनु र मधेश प्रदेशमा धान लगाउने समयमा परेको खडेरीले पनि उत्पादनमा नकारात्मक असर पारेको छ। नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योगदान २४.१६ प्रतिशत छ। धानको हिस्सा १२ प्रतिशत छ।
