समसामयिक राजनीति चिन्तनः ५ मुक्तक
युवाको चर्चा छ देशमा, पुरानाकै चल्छ वृत्ति पनि,
नयाँ सपना बोकेर पनि पुरानै छ हाम्रो नीति पनि।
मुखले भन्छन् परिवर्तन, मनले खोज्छ उही सत्ता,
युग फेरिन्छ नामले मात्रै, सोच पुरानै स्थिति पनि॥
* * *
चुनावको बेलामा जनतालाई आश गतिलो,
भन्नै पर्छ सबैलाई बनाइदिने बास गतिलो।
भन्ने कुरा उस्तै हो, गठजोडहरूले जितेपछि,
झगडा सुरु हुन्छ फेर्नै नसकिने सास गतिलो॥
* * *
जिन्दगी भयो छियाछिया, कसरी छोड्नु चिया, सानु,
खोज्दै हिँड्दैछु कतै पाउँछु कि जिन्दगीको बिया, सानु।
के गरूँ, पलाउने भएनन् जिन्दगीमा नयाँ पालुवाहरू,
जति भौतारिएँ उतिनै भयो जिन्दगी सियाँसियाँ, सानु॥
* * *
नखोज रामराज्य, व्यर्थै हुन्छ- यहाँ कलियुग बोल्दैछ,
नगर्नु है काम काज, गर्न हुन्न- यहाँ ठगियुग बोल्दैछ।
दोष देऊ न जनता शासकलाई, शासकले जनतालाई,
जति सक्छौ लुट, लुकाएर खाउ यहाँ छलियुग बोल्दैछ॥
* * *
दास बनेर झुकेको मान्छे, बिस्तारै हुन्छ लाश,
आँखा खुलेन चेतनाको– बोल्छ केवल निराश।
तर अझै बाँकी छ बाटो, जनताकै भित्र छ श्वास,
साहसले उठेपछि फेरि पलाउँछ नयाँ जनआश॥
