स्मरणशक्ति कमजोर किन हुन्छ बुढ्यौलीमा ?
काठमाडौँ । उमेर बढ्दै जाँदा हरेक मानिसको स्मरणशक्ति घट्दै जान्छ। यसो हुनुको मुख्य कारण मस्तिष्कको कुनै एक भाग वा एउटै जीन मात्र नभई समयसँगै मस्तिष्कभरि हुने संरचनागत परिवर्तनहरू भएको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ।
हजारौँ स्वस्थ वयस्कको एमआरआई स्क्यान र स्मरणशक्ति परीक्षणको विश्लेषण गर्दा, मस्तिष्कको ‘ऊतक’ खुम्चिँदै जाँदा स्मरणशक्ति झन् तीव्र रूपमा घट्ने पाइएको छ। यो प्रभाव विशेष गरी जीवनको पछिल्लो चरणमा बढी देखिने अध्ययनले जनाएको छ। यद्यपि, हिप्पोक्याम्पस स्मरणशक्तिसँग प्रत्यक्ष रूपमा जोडिएको महत्त्वपूर्ण मस्तिष्क भाग हो, तर अध्ययनले देखाएअनुसार स्मरणशक्ति ह्रासमा मस्तिष्कका अन्य धेरै भागहरूको पनि भूमिका रहेको छ। यसले कुनै एक स्थानमा मात्र क्षति नभई मस्तिष्कभर फैलिएको संवेदनशीलता रहेको सङ्केत गर्छ।
१३ वटा छुट्टाछुट्टै दीर्घकालीन अध्ययनबाट सङ्कलन गरिएको तथ्याङ्क प्रयोग गरी गरिएको यस अनुसन्धानमा ३,७०० भन्दा बढी स्वस्थ व्यक्तिका १०,००० भन्दा धेरै एमआरआई स्क्यान र १३,००० भन्दा बढी स्मरणशक्ति परीक्षण समावेश गरिएका थिए। अध्ययनले फरक–फरक उमेर समूहमा समयक्रमसँगै मस्तिष्कको संरचनामा हुने परिवर्तन र स्मरणशक्तिमा देखिने प्रभावको स्पष्ट चित्र प्रस्तुत गरेको छ।
नतिजाअनुसार, मस्तिष्क खुम्चिने प्रक्रिया र स्मरणशक्ति ह्रासबीचको सम्बन्ध सरल वा सीधा रेखामा चल्ने खालको छैन। यो सम्बन्ध उमेर बढ्दै जाँदा झन् बलियो हुँदै जान्छ र अल्जाइमर रोगसँग सम्बन्धित जस्ता जीनगत जोखिमले मात्र यसलाई व्याख्या गर्न सक्दैन।
नेचर कम्युनिकेसन्स जर्नलमा प्रकाशित “बुढ्यौलीमा स्मरणशक्ति ह्रासप्रतिको संवेदनशीलता: मस्तिष्क संरचनागत परिवर्तनको विशाल विश्लेषणबाट उजागर” शीर्षकको यस अध्ययनले स्मरणशक्तिसँग सम्बन्धित मस्तिष्क परिवर्तनहरू कुनै एक भागमा सीमित नरहेको पुष्टि गरेको छ। हिप्पोक्याम्पसमा सबैभन्दा बलियो प्रभाव देखिए पनि मस्तिष्कका कर्टिकल र सबकर्टिकल क्षेत्रहरूमा पनि उल्लेखनीय सम्बन्ध पाइयो।
अनुसन्धानकर्ताहरूका अनुसार, जसको मस्तिष्क संरचना औसतभन्दा छिटो घट्दै गएको थियो, तिनमा स्मरणशक्ति पनि तीव्र रूपमा घटेको देखियो। यसले मस्तिष्क खुम्चिने प्रक्रिया निश्चित स्तर पार गरेपछि स्मरणशक्तिमा यसको असर अझ तीव्र रूपमा बढ्ने सङ्केत गर्दछ।
अध्ययनका वरिष्ठ वैज्ञानिक डा. आल्भारो पास्कुअल–लियोनका अनुसार, “उमेरसँगै देखिने स्मरणशक्ति ह्रास केवल बुढ्यौलीको सामान्य परिणाम मात्र होइन, यो व्यक्तिगत संवेदनशीलता र दीर्घकालीन जैविक प्रक्रियासँग जोडिएको हो।” उनले थपे, “यी निष्कर्षहरूले स्मरणशक्ति ह्रास कुनै एक भाग वा जीनको कारण नभई दशकौँसम्म जम्मा हुँदै जाने मस्तिष्क संरचनागत कमजोरीको परिणाम हो भन्ने देखाउँछ। यसले जोखिममा रहेका व्यक्तिहरूलाई चाँडै पहिचान गर्न र स्मरणशक्ति जोगाउने व्यक्तिगत उपचार तथा उपायहरू विकास गर्न सहयोग पुर्याउन सक्छ।” अध्ययनले स्वस्थ बुढ्यौली र दीर्घकालीन संज्ञानात्मक स्वास्थ्य बुझ्न महत्त्वपूर्ण आधार प्रदान गरेको वैज्ञानिकहरूको निष्कर्ष छ। (एएनआई)
