‘गगन पक्ष चोइटिएर गएको मात्रै हो, संस्था हामी नै हौँ’: कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गगन थापाको नेतृत्वमा गएको समूह पार्टीबाट ‘चोइटिएर’ मात्रै गएको टिप्पणी गरेका छन्। निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्न पुगेका कोइरालाले बहुमत केन्द्रीय सदस्य र महाधिवेशन प्रतिनिधिहरू अहिले पनि संस्थापन पक्षसँगै रहेको दाबी गरे।

विधानको कसीमा विशेष महाधिवेशन आयोग परिसरमा सञ्चारकर्मीहरूसँग बोल्दै कोइरालाले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन बोलाउन सक्ने भए पनि त्यसको कार्यसूची र कार्यविधि केन्द्रीय समितिले नै तय गर्नुपर्ने विधानको व्यवस्था सम्झाए। “कुनै पनि पदाधिकारीलाई आफूखुसी विशेष अधिवेशन बोलाउने अधिकार छैन,” कोइरालाले भने, “व्यक्तिले गर्दैमा त्यो वैधानिक हुँदैन, संस्थाले गरेको निर्णय नै आधिकारिक हुन्छ।”

हस्ताक्षर फिर्ताको दाबी गगन थापा समूहले बुझाएको भनिएका हस्ताक्षरहरू नक्कली भएको वा फिर्ता भइसकेको कोइरालाको जिकिर छ। उनले सोही महाधिवेशनमा गएका ८८५ जना प्रतिनिधिले आफूहरू उक्त प्रक्रियाबाट फर्किएको भन्दै पार्टी कार्यालयमा बुझाएको ‘हस्ताक्षर फिर्ताको निस्सा’ आयोगमा प्रमाणका रूपमा पेस गरिएको जानकारी दिए।

आयोगलाई उदाहरण गगन पक्षको निर्णयलाई कटाक्ष गर्दै उनले भने, “भोलि कुनै निर्वाचन आयुक्तले टुँडिखेलमा गएर उम्मेदवारी दर्ता हुँदैन भन्यो भने के त्यो आयोगको आधिकारिक निर्णय मानिन्छ? मानिँदैन। त्यसैले विधि र प्रक्रियाभन्दा बाहिर गएर गरिएको निर्णय वैधानिक हुन सक्दैन।” उनले निर्वाचन आयोगले लोकतान्त्रिक पद्धति र पार्टीको विधानलाई हेरेर मात्रै निर्णय गर्नेमा विश्वास व्यक्त गरे।

पार्टीको आधिकारिकताको लडाइँ आयोगसम्म पुगेपछि अहिले कांग्रेसका दुवै पक्ष आ-आफ्नो बहुमत सावित गर्ने दौडधुपमा लागेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *