जसले आफू बितेर बचाइन् ३५९ जना यात्रु
१९८६ सेप्टेम्बर ५ मा पाकिस्तानको कराचीमा भएको प्यान एम फ्लाइट ७३ को अपहरण विश्व इतिहासकै एक भयावह घटना मानिन्छ। सो घटनाले नीरजा भनोट जस्ती असाधारण नायिकालाई विश्वसामु चिनाएको छ। कराचीमा इन्धन भर्ने क्रममा रहेको सो विमानमा चार जना सशस्त्र आतंककारी प्रवेश गरेपछि यात्रुहरूमा त्रास फैलिएको थियो।
२२ वर्षीया प्रमुख फ्लाइट अटेन्डेन्ट नीरजाले तत्काल ककपिट क्रूलाई सूचना दिएका कारण पाइलट र सह–पाइलट आपतकालीन ढोकाबाट भाग्न सफल भएका थिए। पाइलटहरू नभएपछि आतंककारीले विमान उडाउन वा अन्यत्र लैजान नसक्ने भएकाले नीरजाको सो निर्णयले सयौँको ज्यान जोगाउन सुरुवाती भूमिका खेलेको थियो। १७ घण्टा लामो अपहरणका क्रममा उनले यात्रुहरूको हौसला बढाउने र अमेरिकी नागरिकलाई लक्षित हुन नदिन उनीहरूका पासपोर्ट लुकाउने जस्ता साहसिक कार्य गरिन्।
विमानको बिजुली बन्द भएपछि आतंककारीले अन्धाधुन्ध गोली चलाउन थालेका थिए। सो समयमा नीरजा आफैँ भाग्न सक्ने अवस्था हुँदाहुँदै पनि यात्रुहरूलाई बाहिर निकाल्न खटिएकी थिइन्। तीन जना बालबालिकालाई जोगाउन आफ्नो शरीरलाई ढाल बनाएकी नीरजाको गोली लागेर मृत्यु भएको थियो। उनको यो त्यागले ३५९ जना यात्रुको ज्यान जोगिएको थियो।
साहस र मानवताको प्रतीक बनेकी नीरजालाई भारत सरकारले सर्वोच्च शान्तिकालीन पदक ‘अशोक चक्र’ र पाकिस्तानले ‘तमघा-ए-पाकिस्तान’ बाट सम्मानित गरेका छन्। सन् २०१६ मा उनको जीवनमा आधारित ‘नीरजा’ चलचित्र समेत निर्माण भएको छ। आज पनि एयरलाइन प्रशिक्षणमा उनको वीरताको कथा उदाहरणका रूपमा प्रस्तुत गर्ने गरिन्छ।
प्रस्तुतिः निराजन पराजुली
