इरानमा जनप्रदर्शनमाथि सरकारको निर्मम दमन
चर्को मूल्यवृद्धिको विरोधमा गत दुई सातादेखि सडक प्रदर्शन जारी राखेका इरानी जनताविरुद्ध सरकार निर्मम दमनमा उत्रिएको छ। गत बिहीबारदेखि देशभरका इन्टरनेट तथा टेलिफोन सेवा बन्द गर्नुका साथै इरानी सरकारले प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
इन्टरनेटको अनुगमन गर्ने संस्था ‘नेटब्लक्स’का अनुसार इरानमा हाल राष्ट्रियस्तरमा केवल १ प्रतिशत मात्र इन्टरनेट कनेक्टिभिटी छ। सरकारले इन्टरनेट र टेलिफोन सेवासमेत बन्द गरिदिएपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सीमित सूचना मात्रै प्राप्त गर्न सकेका छन्। एम्नेस्टी इन्टरनेसनल र ह्युमन राइटस् वाचले पर्याप्त सूचनाको अभावमा बिहीबारदेखि मृतकको संख्या अपडेट गर्न नसकिएको उल्लेख गरेका छन्।
अमेरिकी सञ्चारमाध्यम ‘टाइम’का अनुसार तेहरानका अस्पतालहरू मृतक तथा घाइतेले भरिएका छन्। शनिबार एक चिकित्सकलाई उद्धृत गर्दै टाइमले सडक प्रदर्शनका क्रममा कम्तीमा २ सय १७ जनाको मृत्यु भइसकेको जनाएको छ। रगतको अभाव र गोली लागेका गम्भीर बिरामीका कारण अस्पतालका आकस्मिक कक्षहरू भरिभराउ भएको इरान ह्युमन राइट्स सेन्टरले बताएको छ।
मूल्यवृद्धिको विरोधमा २८ डिसेम्बरदेखि सुरु भएको आन्दोलनमा पछिल्ला दिनहरूमा सत्ता परिवर्तन मूल मुद्दा बनेको छ। प्रदर्शनकारीले ‘तानाशाहको अन्त्य’ हुनुपर्ने भन्दै नारा लगाइरहेका छन्। आइतबार तेहरानको हेरामी दरबारमा हजारौं सर्वसाधारणले सर्वोच्च नेता अयातोल्लाह अली खामेनाईको विरोधमा प्रदर्शन गरेको ‘न्युयोर्क टाइम्स’ले जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीमाथि भएको दमनको विरोध गर्दै अमेरिका सहयोगका लागि तयार रहेको बताएका छन्। उनले सामाजिक सञ्जाल ‘ट्रुथ’मार्फत इरानी सत्तालाई चेतावनी दिएका छन्। जवाफमा इरानका सर्वोच्च नेता खामेनाईले सरकारले घुँडा नटेक्ने बताएका छन्। इरानी सभामुख मोहम्मद बाकेर क्वालिबाफले यदि इरानमाथि आक्रमण भएमा अमेरिकी सैन्य अखडा र इजरायलमाथि निसाना साँध्ने चेतावनी दिएका छन्। यसैबीच, इजरायलले आफ्ना सुरक्षा निकायहरूलाई ‘हाई-अलर्ट’मा राखेको छ।
इरानमा अवैध रूपमा प्रयोग भइरहेको एलन मस्कको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवालाई समेत इरानी अधिकारीहरूले अवरोध (जाम) गर्ने प्रयास गरेको विज्ञहरूले बताएका छन्। केन्टिक कम्पनीका इन्टरनेट विज्ञ डोग मादोरीका अनुसार प्रयोगकर्ताहरूले ठूलो मात्रामा ‘प्याकेट लस’ अनुभव गरिरहेका छन्, जसले सिग्नल जाम भएको संकेत गर्छ। इरानमा यसअघि सन् २०१९ र २०२२ को आन्दोलनका क्रममा पनि यसरी नै इन्टरनेट ठप्प पारिएको थियो।
