कांग्रेस विशेष महाधिवेशनको उद्घाटन महामन्त्रीद्वयले गर्ने

काठमाडौँ। नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गर्ने निश्चित भएको छ। पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई उद्घाटन समारोहमा ल्याउन विशेष महाधिवेशन पक्षधर नेताहरूले बिहानैदेखि प्रयास गरे पनि अन्ततः महामन्त्रीद्वयले नै कार्यक्रमको नेतृत्व गर्ने भएका हुन्।

विशेष महाधिवेशन पक्षधर एक नेताका अनुसार अन्तिम समयसम्म सभापति र कार्यवाहक सभापतिलाई ल्याउने कसरत गरिए पनि उनीहरू नआउने भएपछि यो निर्णय लिइएको हो।

भृकुटीमण्डपमा आयोजना हुने उद्घाटन कार्यक्रमअघि ललितपुरको कुपण्डोल तथा काठमाडौँका विभिन्न स्थानहरू सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस र कमलपोखरीबाट कार्यकर्ताहरूले र्‍याली निकालेका थिए। विशेष महाधिवेशनको पक्षमा नाराबाजी गर्दै निस्किएका यी र्‍यालीहरू अहिले भृकुटीमण्डपमा केन्द्रित भएका छन् र केही बेरमा उद्घाटन समारोह सुरु हुने तयारी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *