प्रशान्त तामाङको हृदयघातका कारण निधन

काठमाडौँ । इन्डियन आइडलका तेस्रो संस्करणका विजेता एवं चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको छ। लामो समयदेखि साङ्गीतिक र चलचित्र क्षेत्रमा सक्रिय रहँदै आएका तामाङको दिल्लीमा निधन भएको हो। निर्माता राजेश वंशलले तामाङकी श्रीमतीलाई उद्धृत गर्दै उनको निधनको खबर पुष्टि गरेका हुन्। वंशलका अनुसार तीन दिन अघिसम्म पनि उनीसँग कुराकानी भएको थियो तर आज अचानक हृदयघातका कारण उनको मृत्यु भएको खबरले सबैलाई स्तब्ध बनाएको छ।

सन् २००७ मा भारतीय टेलिभिजन च्यानल सोनी इन्टेर्टेन्मेन्टको गायन रियालिटी शो ‘इन्डियन आइडल’ जितेपछि प्रशान्त एकाएक चर्चामा आएका थिए। त्यतिबेला उनी कोलकाता प्रहरीमा कार्यरत थिए। पिताको निधनपछि प्रहरीमा भर्ती भएका उनले कहिल्यै औपचारिक सङ्गीत शिक्षा लिएका थिएनन् तर उनको जादुमयी स्वर र सरल स्वभावले विश्वभरका नेपालीहरूको मन जितेको थियो। इन्डियन आइडल जितेपछि पहिलो पटक नेपालको पोखरा र काठमाडौँमा भव्य कन्सर्ट गरेका उनले नेपाली फिल्म ‘गोर्खा पल्टन’ बाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए।

प्रशान्तले अभिनय गरेका ‘गोर्खा पल्टन’, ‘परदेशी’ र ‘परदेशी २’ जस्ता नेपाली फिल्महरू व्यावसायिक रूपमा निकै सफल मानिन्छन्। उनी पछिल्लो समय बलिउड अभिनेता सलमान खान अभिनित फिल्म ‘ब्याटल अफ गलवान’ मा काम गरिरहेका थिए। उक्त फिल्ममा उनले चिनियाँ आर्मीको भूमिका निर्वाह गरेका थिए र फिल्मको डबिङ प्रक्रिया अझै बाँकी रहेको थियो। निर्माता वंशलका अनुसार उनी चिनियाँ भाषा सिकेर डबिङ गर्ने तयारीमा जुटिरहेका थिए।

भारतको दार्जिलिङस्थित तुङ्सुङमा जन्मिएका तामाङ पछिल्लो समय दिल्लीमा बस्दै आएका थिए। एक सहयोगी, मिलनसार र मिहिनेती कलाकारको रूपमा चिनिने उनको असामयिक निधनले नेपाली सङ्गीत र चलचित्र जगतलाई अपूरणीय क्षति पुगेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *