चेकबाट अब ५ लाखभन्दा बढी नगद भुक्तानी नपाइने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले नगद कारोबारमा थप कडाइ गर्दै ५ लाख रुपैयाँभन्दा बढीको चेक साटेर नगद झिक्न नपाइने नयाँ व्यवस्था गरेको छ। सम्पत्ति शुद्धीकरण न्यूनीकरण गर्ने सरकारको उद्देश्यलाई सघाउन केन्द्रीय बैंकले यसअघिको १० लाखको सीमालाई घटाएर ५ लाख कायम गरेको हो।
नयाँ निर्देशन अनुसार अब कुनै पनि व्यक्ति वा संस्थाले ५ लाख रुपैयाँभन्दा बढीको चेक जारी गर्दा अनिवार्य रूपमा ‘एकाउन्ट पेयी’ गर्नुपर्नेछ। यस्तो चेकको रकम सिधै सम्बन्धित व्यक्तिको बैंक खातामा मात्र जम्मा हुनेछ, काउन्टरबाट नगद भुक्तानी पाइने छैन। फर्म, कम्पनी वा कार्यालयका नाममा खिचिएका चेकहरूको हकमा पनि यही नियम लागू हुने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलका अनुसार यो व्यवस्थाले सामाजिक कार्यका लागि वा व्यापारमार्फत नगद संकलन गर्ने सर्वसाधारणलाई भने असर गर्ने छैन। यदि कुनै निक्षेपकर्ताले विशेष कारण देखाई सीमाभन्दा बढी नगद माग गरेमा र बैंकलाई उक्त कारण मनासिब लागेमा नगद भुक्तानी दिन सकिने प्रावधान समेत राखिएको छ। तर, यस्तो भुक्तानीको मासिक विवरण बैंकहरूले अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्नेछ।
यो नियम बैंक तथा वित्तीय संस्थाका साथै लघुवित्तहरूमा पनि अनिवार्य गरिएको छ। सरकारले राजपत्रमा सूचना प्रकाशित गरी नगद कारोबारको सीमा घटाएसँगै राष्ट्र बैंकले यो निर्देशन जारी गरेको हो। डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न र वित्तीय पारदर्शिता कायम राख्न यो कदम चालिएको केन्द्रीय बैंकको भनाइ छ।
