बिरामी ठग्ने विराटनगरका औषधि पसलमा सिलबन्दी

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल आसपास सञ्चालित औषधि पसलहरूले बिरामी र उनीहरूका आफन्तलाई ठगी गरिरहेको फेला परेपछि प्रशासनले कडा कारबाही सुरु गरेको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालय मोरङ र औषधि व्यवस्था विभागको संयुक्त टोलीले गरेको आकस्मिक अनुगमनका क्रममा ७ वटा फार्मेसीलाई सिलबन्दी गरिएको हो।

अस्पताल अगाडि र आसपासका १४ वटा फार्मेसीमा गरिएको अनुगमनका क्रममा गम्भीर लापरबाही र अनियमितता भेटिएपछि ७ वटामा तत्काल ताला लगाइएको छ। सिलबन्दी हुने फार्मेसीहरूमा सीताराम, छिन्नमस्ता, धनगढी माई मेडिकल, सुसंस्कृति, गोल्ड, मित्र र आविष्कार  छन्।

औषधि व्यवस्था विभाग विराटनगरका सूचना अधिकारी दीपेन्द्र खड्काका अनुसार अनुगमनका क्रममा कतिपय फार्मेसीले दर्ता नभएका विदेशी औषधि बिक्री गर्ने, म्याद गुज्रिएका औषधि राख्ने र चिकित्सकको सिफारिसभन्दा बाहिरका औषधि बिरामीलाई जबर्जस्ती भिडाउने गरेको पाइएको छ। विशेषगरी ‘मित्र फार्मेसी’ ले बिरामीलाई अनावश्यक औषधि थमाएर चर्को मूल्य असुलेको र ठगी गरेको तथ्य फेला परेको छ।

“बिरामी ठगिएको गुनासो आएपछि हामीले सघन अनुगमन गरेका हौँ,” सूचना अधिकारी खड्काले भने, “अधिकांशले कानुनी मापदण्ड पालना नगरेको र मूल्यमा मनपरी गरी बिरामीको स्वास्थ्यमाथि खेलबाड गरेको पुष्टि भएपछि सिलबन्दी गर्नु परेको हो।”

प्रशासनको यो आकस्मिक ‘एक्सन’ पछि स्थानीय र बिरामीका आफन्तहरूले राहत महसुस गरेका छन्। विभागले सिलबन्दी गरिएका फार्मेसी सञ्चालकहरूमाथि औषधि ऐनअनुसार थप अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउने जानकारी दिएको छ। अस्पताल जस्तो संवेदनशील क्षेत्रमा हुने यस्ता ठगी नियन्त्रण गर्न अब नियमित निगरानी गरिने समेत प्रशासनले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *