झ्यालबाट हेर्दा
झ्यालबाट हेर्दा के मात्र देखिँदैन र?!
जाडोलाई पचाएर फुटबल खेल्नेहरू।
घाम ताप्न लालायित जनहरू।
वास्तवमा दृश्य हेर्ने चौकोर ढोका मात्र होइन झ्याल, त्यो त मनको मौसम नाप्ने सूचक पनि हो। बिहान झ्याल खोलेर हेर्दा मौसम सफा छ, आकाश नीलो छ, टाढा हिमाल सेतो मुस्कान बोकेर उभिएको छ भने मन आफैँ हलुका हुन्छ। हिमाल हाँसिरहेको देख्दा मन पनि स्वतः हाँस्छ, रमाउँछ। शरीरभित्र कतै सुतिरहेको जाँगर जराक्कजुरुक्क उठ्छ, कामको बोझ पनि जिम्मेवारी होइन, उत्सवजस्तो लाग्न थाल्छ। यस्तो बिहानमा जीवन आफैँले ‘आज केही गर’ भनेर सुस्तरी कानमा फुस्फुसाएजस्तो लाग्छ।
तर सधैँ मौसम यति उदार हुँदैन। कहिलेकाहीँ आकाश मधुरो हुन्छ, न घाम खुलेको हुन्छ, न पानी पर्छ। त्यस्तो दिन झ्याल खोलेर हेर्दा मन पनि अलमलिन्छ। बाहिरको अस्पष्टताले भित्रको ऊर्जा पनि ओझेल पारिदिन्छ। शरीर चल्छ, तर आत्मा ढिलो उठ्छ। काम गर्नुपर्ने थाहा हुँदाहुँदै पनि जाँगरले साथ दिँदैन। मानौँ मौसमले मनलाई पनि रुघाखोकी लगाइदिएको होस्।
अझ कहिलेकाहीँ झ्यालबाट हेर्दा सिमसिमे पानी परिरहेको हुन्छ। प्रकृति शान्त देखिन्छ, तर त्यो शान्ति आलस्यसँग मिसिएको हुन्छ। हुस्सुले डाँडापाखा लुकाइदिएको हुन्छ, बाटोहरू अनिश्चित देखिन्छन्। त्यस्तो बिहान मन पनि उठेर बाहिर फन्को मार्न सक्दैन। ओछ्यान न्यानो लाग्छ, संसार टाढाको कुरा जस्तो। बाहिर केही नदेखिँदा भित्र पनि केही स्पष्ट देखिँदैन। विचारहरू हुस्सु जस्तै गुम्सिएका हुन्छन्।
त्यसैले झ्यालबाट देखिने दृश्य आँखाको विषय होइन, त्यो मनको ऊर्जा हो। मौसमले प्रकृतिलाई जस्तो बनाउँछ, झ्यालले मनलाई पनि त्यस्तै बनाइदिन्छ। उज्यालो दृश्यले उत्साह भर्छ, धमिलो दृश्यले मनलाई सुस्त बनाउँछ। बाहिरको आकाश र भित्रको भावनाबीच अनौठो तर गहिरो सम्बन्ध छ।
सायद यही कारणले होला मानिस बिहानै झ्याल खोल्छ। उसले संसार मात्र हेर्न खोज्दैन, उसले आफ्नै मनको अवस्था बुझ्न खोज्छ। झ्यालबाट देखिने दृश्यले मनलाई उठाउन पनि सक्छ, थच्याउन पनि सक्छ। तर जे होस्, झ्याल सधैँ सत्य बोल्छ- बाहिरको मात्र होइन, भित्रको पनि।
यसरी हेर्दा, झ्याल जीवनको एउटा सानो तर संसार नियाल्ने दर्शन हो, जहाँ मौसम, दृश्य र मन एकअर्कामा मिसिएर एउटै कथा भन्छन्। मन पनि प्रकृतिजस्तै हो, जस्तो देख्छ, त्यस्तै बन्छ।
म आफ्नो झ्यालबाट बाहिर नियाल्छु, संसारले पनि आफूलाई अनगन्ती दृश्यका रूपमा प्रस्तुत गर्छ। मेरो नजर अलि पर पुगेपछि, हिउँदको चिसोले सुकिसकेका घाँसमा पनि गाईवस्तुहरू मस्त भएर चरिरहेको देख्छु। उनीहरूको स्थिरता र एकाग्रतामा एउटा छुट्टै सौन्दर्य छ, जसले प्रकृतिको शान्त जीवनलाई बुझाउँछ। उनीहरूको गतिशीलता र सरलतामा मानवीय हलचलको अभाव झल्किन्छ। त्यसले जीवनलाई सहज र सरल किसिमले बाँधेर राख्छ।
त्यसपछि, अझ पर हेर्दा, ढुङ्गेधारामा पँधेर्नीहरू गाग्रीमा पानी भरिरहेका देखिन्छन्। उनीहरूको शरीरले पानीको धारा सहर्ष थाम्दै, गाग्रीमा पानी भरिरहेको यो दृश्य जीवनको एउटा गहिरो र अनिवार्य हिस्सालाई प्रस्तुत गर्छ। कोही लुगा धोइरहेका छन् र उनको निरन्तरता हाम्रो समाजको संलग्नता र आत्मीयताको प्रतीक हो। पँधेर्नीहरूको गफ र हाँसो मेरो कानसम्म आएर गुञ्जिन्छ। दैनिक जीवनका यी क्रियाकलापले नै मानिसको अस्तित्वलाई सहज र समृद्ध बनाउँछ।
झ्यालबाट देखिने दृश्य मात्र यहाँ अन्त्य हुँदैन। झ्यालबाट माथि हेर्छु, आकाशमा बादलका डफ्फाहरू हावासँग खेल्दै दगुरिरहेका देख्छु। कहिले मिलेर त कहिले छुट्टिएर, यी बादलहरूले जीवनका परिवर्तनशील पक्षलाई देखाउँछन्। चराहरूले उचाइको साहस लिएर आफ्ना पखेटाहरू फैलाउँदै आकाशमा वेग मारिरहेका छन्, मानौँ उनीहरू स्वतन्त्रताका प्रतीक हुन्।
झ्यालबाट तल हेर्दा, केटाकेटीहरूको खेल चलिरहेको छ। उनीहरूको खेल र हाँसोठट्टाले वातावरणलाई जीवित बनाइरहेको छ। यस्तै, केही भाइहरू तरकारी बेच्दै हरेक गल्ली, घरको दैलो, गेट र आँगनमा चिच्याइरहेका छन्। उनीहरूको कामको सघनता र धुन देख्दा जीवनको वास्तविकता र मेहनतको मूल्य थाहा हुन्छ।
यसरी, झ्यालबाट नियाल्दा जीवनका हरेक रूपहरू मेरो सामु उद्घाटित हुन्छन्। यी सबै दृश्यहरू एकसाथ मिलेर एउटा अनौठो सन्देश दिन्छन्। त्यो सन्देशमा जीवन जस्तो छ, त्यसलाई त्यस्तै स्वीकार्दै, विभिन्न रङ र रूपको सहाराले सजाउन सकिने मान्यता पाउँछु। झ्यालको यो परिधिमा संसारका विविध पाटाहरू छर्लङ्ग देखिन्छन्। यसले मलाई जीवनको गहिरो मर्म र सौन्दर्य बुझ्न प्रेरित गर्छ।
झ्यालबाट बाहिर हेर्दा संसार एउटा जीवित चित्रजस्तै देखिन्छ। दृश्यहरू बदलिन्छन्, गतिविधिहरूमा विविधता छ र प्रत्येक दृश्यमा जीवनका अनगन्ती रूपहरू अनायासै झल्किन्छन्। यसरी झ्यालबाट बाहिर हेर्दा सुनिन्छ- कुकुरहरूको भुकाइ, कागहरूको कराइ, केटाकेटीहरूको रुवाइ अनि बाटाघाटाहरूमा मान्छेको ओहोरदोहोर। लाग्छ, यी आवाजहरूले जीवनलाई विभिन्न कोणबाट व्याख्या गरिरहेका छन्।
केही दूरीमा युवाहरू गीत गुनगुनाउँदै, गितारका तारहरूलाई बजाउँदै छन्, मस्तसँग संसार भुल्न खोज्दै। केटाकेटीहरूको रोइकराइ र त्यो मन्द सङ्गीतको मिलनमा एक प्रकारको जीवनको मेलोडी बनेको जस्तै लाग्छ। कोही हाँसिरहेका छन् भने कोही रोइरहेका। यस दृश्यबाट एउटा कुरो स्पष्ट हुन्छ- जीवन कुनै एकनासको छैन। हरेकको जिन्दगीमा आ-आफ्नै रङहरू छन्, आफ्नै ताल छन्, आफ्नै कथा छन्।
झ्यालको दृश्यले प्रेमी-प्रेमिकाहरूलाई अङ्गालोमा बाँधिएका देखाउँछ, उनीहरूको सामीप्यमा जीवनको आनन्द प्रतिविम्बित छ। त्यहीँ वृद्धावस्थामा पुगेका केही मानिसहरू छन्, जो थला परेर अचल छन्, केही लठ्ठीको सहाराले ढल्मलाउँदै हिँडिरहेका छन्। यसरी झ्यालबाट हेर्दा प्रेम र वृद्धत्व, उमङ्ग र थकाइ सबैले जीवनको एउटा परिपूर्ण चक्र देखाइरहेका छन्।
झ्यालमाथि हेर्दा आकाशमा बदलिँदो मौसमसँगै हावाले मुस्किलले हुर्किँदै गरेका गहुँका बिरुवा देखिन्छन्। फूल र फलफूलहरू तुषारोले बच्चाहरूलाई तेल लगाइदिँदै, नुहाइदिँदै गरेका आमाहरूको ममतामा झल्किने माया र वात्सल्य देख्न पाइन्छ। यसरी, झ्यालबाट हेर्दा हाम्रो समाजको एक जीवन्त चित्र आँखा अगाडि आउँछ, जसमा मानवीय संवेदनाहरूका अनेक रूप चलचित्रझैँ देखिन्छन्।
अन्ततः, झ्यालबाट हेर्ने यस क्षणले जीवनलाई विस्तृत रूपमा देखाउँछ। हरेक व्यक्तिको जीवन फरक छ, तर सबैमा एक प्रकारको लय छ, जुन प्रकृति र समयसँगै तालमेल मिलाउँदै अघि बढिरहेको छ। झ्यालबाट हेर्दा सारा संसार एउटा कथा बनिदिन्छ, जहाँ खुसी, दुःख, प्रेम, सङ्घर्ष, वृद्धपन र नवजागरण सबै अटाएका छन्।
झ्यालबाट हेर्दा देखिएको यो दृश्य जीवनको वास्तविकता हो, जसमा हामीले संसारको विविधतालाई नजिकबाट महसुस गर्न पाउँछौँ। तर, बाहिरको संसार यतिमा सीमित छैन। परेवाको घुरघुर, माग्नेको याचनाको स्वर र जोगीहरूको भिक्षाटन सँगसँगै गुञ्जिन्छ। साँच्चै, माग्न आउनेका अनेक रूप देख्न पाइन्छ- कोही शङ्ख फुक्दै, कोही कराउँदै, त कोही मौन उपस्थितिमा जीवनका दुःखहरू ओढेर। झ्यालबाट हेर्दा घरबेटीको मन पगाल्न खोज्नेहरूको भीड र पुराना कागज, खाली सिसी खोज्न आउनेहरूको लर्को पनि त्यत्तिकै देखिन्छ।
झ्याल बाहिरको अर्को दृश्य स्कुल जाने बालबालिकाको चहलपहलले भरिएको हुन्छ। कोही बसको प्रतीक्षामा त कोही आफैँ दौडिरहेका छन्। भारी झोलाका कारण ढल्किरहेका बालबालिकाको सङ्घर्ष, उनीहरूको निर्दोश मुस्कान र यात्राको थकावट पनि देखिन्छ। सवारी साधनहरू तीव्र गतिमा हुइँकिरहेको देखिन्छ, हतारोको स्पर्शले वातावरणलाई कम्पित बनाउँदै। सबैलाई कतै पुग्न हतार छ, तर त्यो गन्तव्य भने अस्पष्ट छ।
झ्यालबाट देखिने यो दृश्य एक सामान्य जनजीवनको झल्को मात्र होइन, यसले एउटा जीवनको भिन्न-भिन्न स्वरूपलाई उजागर गर्छ। सजीव, हल्लायुक्त र हतारोले भरिएको यो जीवनले एउटा प्रश्न खडा गर्छ- यो सबैको हतारको गन्तव्य के हो? मान्छे किन यसरी कहाँ पुग्न हतारिएको छ?
झ्यालबाट हेर्दा मैले देख्ने दृश्यका ताँती छन्।
