अनिष्टको सङ्केत कि चेतनाको परीक्षा ?

भौगोलिक असन्तुलन, राजनीतिक ध्रुवीकरण र प्राकृतिक पर्यावरणमा देखिएका तीव्र फेरबदल- के यी कुनै ठूलो अनिष्टका पूर्वसंकेत हुन्? या मानव सभ्यताले आफ्नो अस्तित्व रक्षाका लागि दिनुपर्ने अनिवार्य अग्निपरीक्षा? आजको विश्व परिवर्तनसँग त्रसित छ, तर प्रश्न उठ्छ- हामी परिवर्तनसँग डराएका हौँ कि आत्मपरीक्षण गर्न डराएका हौँ?

इतिहासको ऐना र वर्तमानको त्रासदी

पहिलो विश्वयुद्ध कुनै आकस्मिक परिघटना थिएन; त्यो राजघरानियाको अपमानबाट सल्किएको शक्ति, अहङ्कार र प्रतिष्ठाको टकराव थियो। दोस्रो विश्वयुद्ध पहिलोको अधुरो घाउ, प्रतिशोध र असन्तुलित सम्झौताहरूको विषक्त परिणाम बन्यो। ती दुई महायुद्धले मानव सभ्यतालाई विनाश र पश्चातापको जुन पाठ पढाए, त्यसैको जगमा आज तेस्रो विश्वयुद्ध हुन नदिन ‘शान्तिकामी’ स्वरहरू गुन्जिरहेका छन्।

यद्यपि, प्रत्यक्ष युद्ध नभए पनि संसार आज ‘शीतयुद्ध’को निरन्तर तनावमा श्वास फेरिरहेको छ। शक्तिशाली राष्ट्रहरूले शक्तिको दुरुपयोग गरिरहँदा पछिल्ला दशकहरूमा जलवायु परिवर्तनले सभ्यतासामु अर्को एक जटिल र अदृश्य युद्ध छेडिदिएको छ।

प्रतिस्पर्धाको दासता र विवेकको खडेरी

मानव जीवन प्रकृतिको जैविक चक्रको अद्भुत अंश हो। तर, हामीले सहअस्तित्वभन्दा बढी प्रभुत्वलाई, र सन्तुलनभन्दा बढी उपभोगलाई जीवनको ध्येय बनायौँ। ‘सर्भाइभल अफ द फिटेस्ट’लाई हामीले केवल अरूलाई पछारेर अघि बढ्ने दौडका रूपमा बुझ्यौँ। विवेकको अर्थ केवल संसार बुझ्नु मात्र होइन, यसको संरक्षण गर्नु र भावी पुस्ताप्रति उत्तरदायी हुनु पनि हो। तर, के आजको मानव सभ्यता यो जिम्मेवारीप्रति सचेत छ?

इतिहासको हरेक युगले आफूलाई ‘अन्तिम युग’ ठानेर प्रलयको भय बोकेको हुन्छ। आजको युग पनि सभ्यता समाप्त हुने डरमा छ। तर वास्तविकता के हो भने, मानव चेतना परिवर्तनको मोडमा सधैँ आत्मसात् गर्न डराउँछ। आजको पुकार स्पष्ट छ- “हामीलाई युद्ध होइन, भविष्य चाहिन्छ।”

परिवर्तन: प्रकृति र प्रवृत्तिको द्वन्द्व

परिवर्तन अपवाद होइन, जीवनको शाश्वत नियम हो। ऋतु बदलिन्छन्, नदीले धार फेर्छन्, र मानव शरीर स्वयम् क्षय र विकासको प्रक्रियामा बाँचिरहेको हुन्छ। जडता मृत्यु हो, परिवर्तन नै जीवन हो। मानिस परिवर्तनसँग यसकारण डराउँछ किनकि उसलाई ‘अपरिचित भविष्य’ भन्दा ‘परिचित पीडा’ बढी सुरक्षित लाग्छ। तर, जब अपमान र अन्यायको सीमा नाघ्छ, तब शासकको चेतनाहीनताका विरुद्ध विद्रोहको जन्म अनिवार्य हुन्छ।

जलवायु परिवर्तन प्रकृतिको बदला होइन, यो मानवको अनियन्त्रित लोभ र नाफामुखी विकासको प्रतिक्रिया मात्र हो। ओजोन तहको क्षय, हिमनदीको क्रन्दन र असामान्य मौसम- यी सबै मानव सभ्यताका लागि ‘नैतिक परीक्षापत्र’ हुन्। प्रश्न पृथ्वी बाँच्ने वा नबाँच्ने भन्ने होइन, प्रश्न त मानव चेतना परिपक्व हुन सक्छ कि सक्दैन भन्ने हो। नेपालजस्तो देशका लागि यी असरहरू केवल वातावरणीय घटना मात्र होइनन्, यो त हाम्रा हजारौँ वर्ष पुराना सभ्यता र पहिचानमाथिको चुनौती हो।

सामाजिक पुनर्संरचना र भू-राजनीतिक दाउपेच

आजको सामाजिक टकराव-परम्परा र आधुनिकता, सामूहिकता र व्यक्तिवादबीचको द्वन्द्व-विखण्डन होइन, यो त पुनर्संरचनाको प्रसव पीडा हो। इतिहास साक्षी छ, हिजो ‘अशान्ति’ ठानिएका अधिकारमुखी आन्दोलनहरू नै आज मानवीय गरिमाका आधार बनेका छन्।

तर, भू-राजनीतिक मञ्चमा भने ‘ठूला माछाले साना माछा खाने’ जङ्गली नियम अझै हाबी छ। निकोलस मादुरोको प्रसङ्ग होस् वा युक्रेन र मध्यपूर्वको सङ्घर्ष- यहाँ मूल प्रश्न ‘को सही’ भन्ने मात्र होइन, प्रश्न त ‘कुनै सार्वभौम राष्ट्रको आन्तरिक कमजोरीमा बाह्य हस्तक्षेप कति जायज’ भन्ने हो। आजको विश्व राजनीति सत्य र असत्यको रेखामा होइन, शक्ति र स्वार्थको जटिल जालोमा जेलिएको छ।

नेपालको सन्दर्भ: आन्तरिक एकता कि बाह्य दासता?

नेपालमा आन्तरिक कलह र ध्रुवीकरणको फाइदा उठाउँदै वैदेशिक शक्तिहरूले आ-आफ्नो रणनीति बुनिरहेका छन्। यस्तो बेला हाम्रो एकमात्र विकल्प ‘आन्तरिक एकीकरण’ हो। स्वार्थका लागि गरिएको राजनीतिक मिलेमतो घातक हुन्छ। आजको राजनीति विचारले होइन, ‘डर’ले निर्देशित छ। जब नागरिक प्रश्न सोध्न डराउँछ, तब लोकतन्त्रको आत्मा मर्दछ र अधिनायकवादको उदय हुन्छ।

नयाँ पुस्ता आज यही डरको राजनीति तोड्न र देशभक्तिलाई पुनः परिभाषित गर्न मैदानमा आउँदैछ। गरिबीलाई महिमा मण्डन गर्नु देशभक्ति होइन, अभाव तोड्ने साहस निर्माण गर्नु सच्चा राष्ट्रप्रेम हो।

विवेकको मार्ग र भविष्यको बाटो

असमानता केवल आर्थिक अन्तर होइन, यो एक दार्शनिक र संरचनागत अपमान हो। नेपाली नागरिक कागजमा सार्वभौम छ, तर उसको ‘पासपोर्ट’ले विश्व बजारमा उसको हैसियत मापन गरिरहेको छ। यो राज्यको नीतिगत असफलताको ऐना हो।

यसबाट उम्कने उपाय भाग्नु होइन, रूपान्तरण हो। नेपालले पूँजीको अन्धो दौड जित्न सक्दैन, तर मानवीय मूल्य र विवेकको उदाहरण बन्न सक्छ। पुरानो चेतना मर्दैछ र नयाँको जन्म हुँदैछ। यो पीडा नयाँ सभ्यता जन्मिने ‘मौन क्षण’ पनि बन्न सक्छ।

अन्त्यमा, नेपाली राजनीतिमा देखिएको विभाजनको रोग अब अन्त्य हुनुपर्छ। बिपी-मात्रिकादेखि केपी-माधबसम्मका फुटको तिक्तता देशले धेरै भोगिसक्यो। दलहरू दोषी होइनन्, पात्रका अहङ्कारले व्यवस्थालाई घायल बनाएको छ। त्यसैले, वैशाखीको सहारा (गठबन्धन) छोडेर नीति र सिद्धान्तका आधारमा एकल प्रतिस्पर्धामा जानु नै लोकतन्त्र र नेपालको उज्ज्वल भविष्यका लागि श्रेयष्कर हुनेछ। नेपाली कांग्रेसभित्र सुनिएको फुटको चर्चा केबल हल्लामै सीमित रहोस्, र चेतनाको यो परीक्षामा हामी सबै उत्तीर्ण हुन सकौँ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *