हर्क साम्पाङको घोषणा: सुनसरी-१ बाट भिड्ने

धरान । धरान उपमहानगरपालिकाका मेयर एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत आफू सुनसरी क्षेत्र नम्बर १ बाटै चुनाव लड्ने जानकारी दिएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधि सभाको चुनाव लड्नेछु ! जय माटो ! जय देश !’

लामो समयदेखि स्वतन्त्र राजनीति र श्रम संस्कृतिको अभियान चलाउँदै आएका साम्पाङले अहिले आफ्नै नेतृत्वमा पार्टी दर्ता गरेर राजनीतिक गतिविधि अघि बढाएका छन् । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएर सनसनीपूर्ण जित निकालेका साम्पाङको यो घोषणालाई राजनीतिक वृत्तमा महत्वका साथ हेरिएको छ ।

सुनसरी क्षेत्र नम्बर १ साम्पाङको गृहक्षेत्र समेत हो । उनले मेयरको जिम्मेवारी सम्हाल्दै गर्दा पनि संघीय संसदमा पुगेर देशको नीति निर्माणमा भूमिका खेल्ने इच्छा देखाउँदै आएका थिए । आजको यो घोषणासँगै सुनसरीको चुनावी सरगर्मी अहिलेदेखि नै बढ्ने देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *