वीरगञ्जमा दिउँसो १ बजेसम्म कर्फ्यु थप, प्रदर्शन र भेला गर्न रोक

वीरगञ्ज । धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले वीरगञ्जमा जारी गरेको कर्फ्यु आदेश आज दिउँसो १ बजेसम्मका लागि लम्ब्याएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले यसअघि सोमबार साँझ ६ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि मात्र कर्फ्यु लगाएको भए पनि परिस्थिति विश्लेषण गरी समय थप गरिएको हो।

प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार वीरगञ्ज महानगरपालिका क्षेत्रअन्तर्गत पूर्वमा बसपार्क, नगवा र इनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्मको क्षेत्रमा कर्फ्यु लगाइएको छ। यो अवधिमा ती क्षेत्रहरूमा कुनै पनि किसिमको भेला हुन, सभा वा जुलुस निकाल्न तथा प्रदर्शन गर्न पूर्ण रूपमा रोक लगाइएको छ।

धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायबीच आइतबारदेखि नै लगातार विवाद र प्रदर्शन भइरहेका कारण वीरगञ्ज बजार अशान्त बनेको छ। सम्भावित झडप र थप क्षति रोक्न प्रशासनले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ। प्रशासनले स्थानीय नागरिकलाई संयम अपनाउन र कर्फ्यु आदेशको पूर्ण पालना गरी शान्ति सुरक्षा कायम गर्न सहयोग गर्न अपिल गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *