वीरगञ्जमा मंगलबार बिहानसम्म कर्फ्यू जारी

काठमाडौँ । धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायबीचको तनाव उग्र बन्दै गएपछि स्थानीय प्रशासनले वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि कर्फ्यू लगाइएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिएका छन्।

प्रशासनका अनुसार वीरगञ्जको शान्ति सुरक्षा कायम गर्न पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शङ्कराचार्य गेटसम्मको क्षेत्रलाई संवेदनशील मान्दै कर्फ्यू लगाइएको हो। यस अवधिमा कसैले पनि भेला हुन, सभा, जुलुस वा कुनै पनि प्रकारको प्रदर्शन गर्न पाउने छैनन्।

यसअघि प्रशासनले सोमबार दिउँसो १ बजेदेखि नै अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो। तर स्थिति सामान्य नभएपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै कर्फ्यूको निर्णय लिइएको हो। धनुषाको घटनालाई लिएर आइतबारदेखि नै दुई समुदायबीच भइरहेको लगातारको प्रदर्शन र त्यसबाट उत्पन्न अशान्तिका कारण वीरगञ्जको जनजीवन प्रभावित भएको छ।

प्रशासनले सामाजिक सद्भाव नबिथोल्न र अफवाहको पछि नलाग्न सबैमा अपिल समेत गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *