भीमफेदी सुमो दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ-हेटौँडा जोड्ने छोटो राजमार्ग अन्तर्गत मकवानपुरको भीमफेदी-६ जुरीखेतमा भएको सुमो दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो सडकबाट करिब १०० मिटर तल खोल्सामा खस्दा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृतकहरूको शव हेटौँडा ल्याइएको छ तर उनीहरूको पहिचान खुल्न बाँकी छ। दुर्घटनामा घाइते भएका ३ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये दुई बालबालिकाको अवस्था मध्यम रहेको अस्पताल स्रोतले जनाएको छ।

इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको टोलीले स्थानीयको सहयोगमा उद्धार कार्य गरेको थियो। दुर्घटनास्थल भीमफेदी बजारबाट करिब ३ किलोमिटरको दुरीमा पर्छ। यो स्थान अत्यन्तै जोखिमपूर्ण मानिन्छ, जहाँ यसअघि पनि ३ वटा साना सवारी साधन दुर्घटनामा परिसकेका छन्। प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *