पूर्वप्रधानमन्त्री ओलीसँग मानवअधिकार आयोगले लियो बयान

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको मानवीय क्षतिको विषयमा तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बयान लिएको छ।

आयोगकी सदस्य लिली थापाको नेतृत्वमा अध्यक्ष ओलीसँग सोधपुछ गरिएको हो। उक्त आन्दोलनका क्रममा मुलुकभर ७६ जनाको ज्यान गएको थियो।

घटनालगत्तै आयोगले गरेको अनुसन्धानमा तत्कालीन सरकारले अत्यधिक बल प्रयोग गरेको र गम्भीर लापरबाही देखाएको निष्कर्ष निकालिएको थियो। सोही घटनाको छानबिन प्रक्रियाअन्तर्गत आयोगले अहिले विभिन्न जिम्मेवार व्यक्तिहरूसँग बयान लिने कार्यलाई तीव्रता दिएको छ।

आयोगकी सदस्य थापाले आन्दोलनको सन्दर्भमा तत्कालीन कार्यकारी प्रमुखको हैसियतमा ओलीसँग सोधपुछ भइरहेको पुष्टि गरिन्। यो बयानले ७६ जनाको ज्यान जाने गरी भएको हिंसात्मक घटनामा राज्यको जवाफदेहिता र सत्य तथ्य बाहिर ल्याउन मद्दत गर्ने विश्वास गरिएको छ।

यसैबीच, जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेको छ। लेखकको बयान सकिएसँगै पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र लेखेको हो।

आयोगले यसअघि लेखक, सुरक्षा निकायका प्रमुखहरू, काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारीलगायतसँग बयान लिइसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *