भेनेजुएलाका राष्ट्रपति मदुरो पक्राउप्रति कमला ह्यारिसको आपत्ति
काठमाडौँ । अमेरिकी पूर्वउपराष्ट्रपति कमला ह्यारिसले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरिएको घटनाप्रति कडा आपत्ति जनाएकी छिन्। शनिबार सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको यो कदम लागूऔषध नियन्त्रणका लागि नभई ‘तेलको स्वार्थ’ बाट प्रेरित भएको आरोप लगाएकी छिन्।
ह्यारिसले ट्रम्पको यस कार्यलाई ‘गैरकानुनी र मूर्खतापूर्ण’ भन्दै यसले अमेरिकालाई सुरक्षित बनाउनुको साटो अमेरिकी क्षेत्रलाई थप अस्थिर बनाउने र सेनाको जीवन जोखिममा पार्ने चेतावनी दिएकी छिन्। “मदुरो क्रूर र अवैध तानाशाह हुन् भन्नेमा दुई मत छैन, तर जबरजस्ती शासन परिवर्तनको नाममा गरिएको यो सैन्य हस्तक्षेप अराजकतामा परिणत हुनेछ,” उनले लेखेकी छिन्।
भेनेजुएलामा अमेरिकी सैन्य कारबाही सफल भएलगत्तै राष्ट्रपति ट्रम्पले मार-ए-लागो निवासबाट पत्रकार सम्मेलन गर्दै अब भेनेजुएलाको विशाल तेल भण्डारमा अमेरिकाको नियन्त्रण रहने घोषणा गरेका थिए। ह्यारिसले भने ट्रम्पको यो कदमको कुनै कानुनी आधार नरहेको र यसको मूल्य अन्ततः अमेरिकी परिवारहरूले नै तिर्नुपर्ने दाबी गरेकी छिन्। (एएनआइ)
