निर्वाचन आचारसंहिता : बालबालिका प्रयोगदेखि सामाजिक सञ्जालसम्म निगरानी

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता कडाइका साथ लागू गरेको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आयोगले सरकारी निकाय, राजनीतिक दल र उम्मेदवारहरूलाई आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको हो।

आयोगले सार्वजनिक सम्पत्ति, विद्यालय वा विश्वविद्यालयको परिसरलाई चुनावी प्रचारप्रसारमा प्रयोग गर्न पूर्ण रोक लगाएको छ। सरकारी स्रोत-साधनको दुरुपयोग गर्ने, मतदातालाई प्रभावित पार्ने गरी नयाँ परियोजना घोषणा गर्ने वा सार्वजनिक आवागमनमा बाधा पुग्ने गरी सभा-जुलुस गर्नेहरूमाथि कडा कारबाही हुने आयोगले चेतावनी दिएको छ।

विशेषगरी यसपटक आयोगले सामाजिक सञ्जाल र बालबालिकाको प्रयोगमा कडा निगरानी गर्ने भएको छ। सामाजिक सञ्जालमार्फत भ्रामक र द्वेषपूर्ण सूचना फैलाउने तथा चुनावी प्रचारमा बालबालिकालाई प्रयोग गर्ने उम्मेदवार वा दललाई कानुनी कठघरामा उभ्याइने आयोगको विज्ञप्तिमा उल्लेख छ।

आचारसंहिता कार्यान्वयनको अनुगमन गर्न आयोगले विशेष टोली नै परिचालन गरेको छ। घरधनीको अनुमतिविना निजी घरमा झण्डा राख्न वा पर्चा टाँस्न समेत निषेध गरिएको छ। निर्वाचनलाई प्रभाव पार्ने कुनै पनि गतिविधि भेटिएमा तत्काल कारबाही प्रक्रिया अघि बढाइने आयोगले प्रस्ट पारेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *