‘थारू समुदायको माग र मुद्दालाई सम्बोधन गरियोस्’
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले संविधान र कानुनले थारू समुदायलाई दिएको अधिकार प्रचलनमा देखिएको अवरोधप्रति चिन्ता व्यक्त गरेकी छन्। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा थारू कल्याणकारिणी सभाको प्रतिनिधिमण्डलसँगको भेटमा उनले राज्यका सबै अङ्गमा सबै समुदायको उचित प्रतिनिधित्व हुनुपर्नेमा जोड दिइन्।
भेटका क्रममा सभाका अध्यक्ष प्रेमीलाल चौधरीले संविधान जारी भएको १० वर्ष बितिसक्दा पनि निजामती सेवामा थारूहरूको आरक्षण सुनिश्चित नभएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। जवाफमा प्रधानमन्त्री कार्कीले भनिन्, ‘संविधानले दिएको अधिकार कसले र किन रोक्यो? यो कुरा मैले पनि बुझ्न सकिरहेको छैन। संविधान र कानुनमा व्यवस्थित भइसकेका हकको प्रचलन कसैले रोक्न हुँदैन।’
नेपाल सबैको साझा फूलबारी भएको उल्लेख गर्दै उनले समावेशी प्रतिनिधित्वबाट मात्र दिगो विकास सम्भव हुने बताइन्। सोही अवसरमा प्रतिनिधिमण्डलले माघ १ गते टुँडिखेलमा आयोजना हुने ‘थारू राष्ट्रिय माघी महोत्सव’का लागि प्रधानमन्त्री कार्कीलाई औपचारिक निमन्त्रणा समेत दिएको छ।
