१ हजार जेनजीलाई रिहा नगरे आन्दोलन गर्ने चेतावनी

काठमाडौँ । जेनजी अगुवा अर्जुन शाही लगायतका हिरासतमा रहेका एक हजारभन्दा बढी युवाहरूको रिहाइका लागि ‘जेनजेड २.०’ ले सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको छ। आइतबार काठमाडौँको संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै उक्त समूहले आफ्ना मागहरू पूरा नभए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको हो।

पत्रकार सम्मेलनमा बोल्दै जेनजी २.० का प्रवक्ता अबिन लिम्बुले आन्दोलनमा सहभागी भएकै कारण निर्दोष युवाहरूलाई थुनामा राखिएको दाबी गरे। “हामीले पटक-पटक उनीहरू दोषी होइनन्, केवल आन्दोलनमा सहभागी भएका हुन् भनेर प्रमाणसहित जाँदा पनि सुशीला कार्की नेतृत्वको सरकार कान थुनेर बसिरहेको छ,” लिम्बुले आरोप लगाए।

प्रवक्ता लिम्बुले सरकारले आफ्नै प्रतिबद्धता भुलेको भन्दै आक्रोश व्यक्त गरे। सरकारले १५ दिनभित्र स्क्रिनिङ र छानबिन गरी ज्यान मार्ने कसुर वा सुनियोजित सङ्गठनमा संलग्न नभएकाहरूलाई तत्काल रिहा गर्ने र मुद्दा फिर्ता लिने सहमति गरे पनि एक महिना बितिसक्दा समेत कार्यान्वयन नगरेको उनको भनाइ छ। “यति धेरै समय भइसक्दा पनि छानबिन किन सकिएन? सरकार आफैँले गरेको सहमतिमा अडिन सक्दैन भन्ने यसले प्रष्ट पारेको छ,” उनले थपे।

जेनजी समूहले सरकारले छिटोभन्दा छिटो अनुसन्धान प्रक्रिया टुङ्ग्याएर निर्दोष जेनजीहरूलाई जेलमुक्त नगरे देशभरि आन्दोलनको राँको बाल्ने चेतावनी दिएको छ। पक्राउ परेका अर्जुन शाही लगायतका अभियन्ताहरूमाथि लगाइएका मुद्दाहरू राजनीतिक प्रतिशोध मात्र भएको उनीहरूको जिकिर छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *