देउवा र प्रचण्डलाई बयानका लागि पत्राचार

काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको सत्यतथ्य छानबिनका लागि गठित जाँचबुझ आयोगले अनुसन्धानलाई तीव्र पार्दै राजनीतिक दलका शीर्ष नेतृत्वसम्म पुगेको छ। आयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ती दिनका घटनाबारे जानकारी लिन पत्राचार गरेको हो। आयोगका अनुसार दुवै नेताले पत्र बुझिसकेका छन् भने उनीहरूलाई कार्यालयमै उपस्थित हुन वा सम्भव नभए पठाइएका प्रश्नावलीको लिखित जवाफ दिन आग्रह गरिएको छ।

आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि बयान लिने तयारी अन्तिम चरणमा पुर्‍याएको छ। ओलीलाई पत्र काट्ने विषयमा आयोगका पदाधिकारीहरूले वर्तमान प्रधानमन्त्री सुशीला कार्कीसँग सिंहदरबारमा आवश्यक परामर्श समेत गरिसकेका छन्। तत्कालीन सरकारको नेतृत्व गरेको हैसियतले ओलीको बयानलाई आयोगले अनुसन्धानको महत्वपूर्ण कडी मानेको छ।

यसैबीच, आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बुधबार लामो बयान लिने कार्य सम्पन्न गरेको छ। लेखकको बयानपछि उत्साहित देखिएको आयोगले अब सुरक्षा निकायका उच्च अधिकारी र अन्य राजनीतिक पात्रहरूसँगको सोधपुछलाई अन्तिम चरणमा पुर्‍याएको छ। सबै पक्षको बयान र संकलित प्रमाणका आधारमा विस्तृत प्रतिवेदन तयार पारी छिट्टै सरकारलाई बुझाउने आयोगको तयारी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *