पाथीभरा केबलकार विवाद फेरि ब्युँतियो, पक्ष र विपक्षबीच चर्काचर्की

विराटनगर । केही समय मत्थर देखिएको पाथीभरा केबलकारको विवाद राष्ट्रिय सभाको समितिसँगको छलफलपछि पुनः सतहमा आएको छ। राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले बुधबार फुङलिङ नगरपालिकामा आयोजना गरेको छलफलमा केबलकार निर्माणको पक्ष र विपक्षबीच चर्काचर्की भएको हो।

छलफलका क्रममा केबलकार खारेजी संयुक्त संघर्ष समितिका अध्यक्ष खगेन्द्र फेम्बु लिम्बूले आफ्नो सास रहेसम्म निर्माण कार्य रोक्न आन्दोलन जारी राख्ने चेतावनी दिए। उनले राज्यले व्यापारीको स्वार्थमा लागेर पहिचान र संस्कृतिमाथि दमन गरेको आरोप लगाउँदै मुकुमलुङ युमामाङ र पाथीभरा देवीको कसम खाएर आफूहरू पछि नहट्ने बताए।

अर्का अभियन्ता सरोज कङलिवा लिम्बूले लगानीकर्ता चन्द्र ढकाललाई आफ्नो लगानी फिर्ता लिन सुझाव दिन सांसदहरूलाई आग्रह गरे। स्थानीय युवाहरूले पनि कुनै पनि हालतमा केबलकार बन्न नदिने अडान दोहोर्‍याएका छन्।

समितिका सभापति माधवप्रसाद शर्माको नेतृत्वमा आएको सांसदहरूको टोलीले पाथीभरा क्षेत्रको संरक्षण र केबलकार निर्माणका सम्बन्धमा स्थलगत अवलोकन र सरोकारवालाको धारणा बुझ्न यो छलफल आयोजना गरेको थियो।

नगरपालिकाले पाथीभरा क्षेत्र विकास समिति, उद्योग वाणिज्य सङ्घ र आन्दोलनरत समूहलाई छलफलका लागि बोलाएको थियो। आन्दोलनरत पक्षले भने आफूहरूलाई प्रहरीले रोकछेक गरेको र राज्यले दमनकारी नीति अपनाएको भन्दै आक्रोश पोखेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *