इलाममा कार्यरत् सशस्त्रका डीएसपी कोइरालाको निधन
इलाम। सशस्त्र प्रहरीको पशुपतिनगरस्थित गुल्मका गुल्मपति प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश कोइरालाको बुधबार निधन भएको छ। कामका सिलसिलामा बिहान इलामको भञ्ज्याङबाट पशुपतिनगर फर्केलगत्तै उनी अचानक ढलेका थिए।
निकै अस्वस्थ भएपछि उनलाई सुरुमा प्राथमिक स्वास्थ्य केन्द्र पशुपतिनगरमा लगिएको थियो। त्यसपछि थप उपचारका लागि एम्बुलेन्समा फिक्कल अस्पताल लगिएको थियो । त्यहाँ पुर्याएर चिकित्सकले प्रयास गर्दा पनि होस नखुलेपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको थियो।
काठमाडौंस्थित सशस्त्र प्रहरी बल (एपीएफ) अस्पतालमा उपचारकै क्रममा साँझ उनको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ।
ड्युटीबाट फर्केलगत्तै भएको दुःखद घटनाले सुरक्षा निकाय र पशुपतिनगर क्षेत्र स्तब्ध बनेको छ। कोइरालाको शवलाई अहिले अस्पतालमै राखिएको र थप प्रक्रियापछि अन्तिम संस्कार गरिने बताइएको छ।
