स्वदेश फिरेको त्यो दिनको सम्झना
काठमाडौँ फिर्ने निर्धारित मितिको एक दिनअगाडि हामी पटना पुग्यौँ। त्यहाँबाट काठमाडौँका लागि तत्कालीन शाही नेपाल वायुसेवा निगमको टिकट १५ दिनअघि नै हाम्रा नाममा लिइएको थियो। पटनाको पार्टी कार्यालयमा हामी पुग्दा बीपी र गणेशमानजी पटना आइसक्नुभएको रहेछ। गणेशमानजीका साथ बीपी आफ्ना मित्र देवेन्द्रप्रसाद सिंहकहाँ जानुभएको थाहा भयो। सिंहसँग बीपीको चिनजान बनारस हिन्दु विश्वविद्यालयमा रहँदा भएको थियो। उनी पनि बीपीजस्तै जयप्रकाश नारायण, राममनोहर लोहियाहरूले नेतृत्व गरेको ‘कांग्रेस समाजवादी पार्टी’ मा आबद्ध बिहारका नेता थिए।
राजनीतिमा बीपीको प्रतिभा, क्षमता र सम्भावनालाई हृदयङ्गम गरेर यिनै देवेन्द्र बाबुले बीपीलाई- ‘तिमी राजनीति गर्छौ भने ढुक्कसँग त्यसमा लाग, तिम्रो आर्थिक व्ययभार म बेहोरोँला’ भनेर आश्वस्त पारेका थिए। सायद यसैलाई लक्षित गर्दै एक पटक बीपीले आफ्नो पार्टीका युवा नेताहरूलाई काठमाडौँमा भन्नुभएको थियो, ‘तिमीहरूका सोसल फ्रेन्ड्स छन् कि छैनन्? सोसल फ्रेन्ड्स नभई राजनीतिमा टिक्न सकिन्न। भारतमा मेरा दुई-चार जना सोसल फ्रेन्ड्स भएकाले म राजनीतिमा टिक्न सकेँ, तिमीहरूले पनि सोसल फ्रेन्ड्स बनाउनू, नत्र राजनीतिमा टिक्न गाह्रो हुन्छ।’
बिहारको राजधानी सहर पटनामा फस्टाएको कानुन व्यवसायसमेतको पारिवारिक पृष्ठभूमिका सिंह सम्पन्न घरानाका व्यक्ति थिए। उनी पछि भागलपुर विश्वविद्यालयका उपकुलपतिसमेत भएका थिए। पटनामा अधिकतर बीपी उनकै आतिथ्यमा रहनुहुन्थ्यो। हामीलाई पनि त्यहीँ जाने खबर छाड्नुभएकाले हामी पनि देवेन्द्र बाबुकहाँ पुग्यौँ। हामी भोलिपल्टै नेपाल फिर्न लागेको थाहा पाएपछि देवेन्द्र बाबुले सोध्नुभयो, ‘क्या तुमलोग पञ्चायतको स्वीकार करके जा रहे हो?’
म छक्क परेँ। हामी पञ्चायतलाई स्वीकार गरेर त नेपाल फर्किरहेका थिएनौँ। के बीपी र देवेन्द्र बाबुबीच यस विषयमा कुरा भएको छैन? कि हाम्रो मन चोर्न वा हाम्रो आत्मबल जाँच्न यी बुढा यस्तो प्रश्न गर्दै छन्? बीपीले भनेका शब्द मेरा कानमा गुन्जिए-
‘हिजोसम्म हाम्रो सङ्घर्ष जनताको प्रजातान्त्रिक अधिकारको निम्ति मात्र थियो। त्यसो हुनाले हामीले प्रजातान्त्रिक पक्षमा मात्र बढी जोड दियौँ। आज यसमा एउटा नयाँ आयाम थपिएको छ- राष्ट्रियताको। नेपाली कांग्रेसलाई आज दोहोरो जिम्मेवारी आइपरेको छ। यो दोस्रो जिम्मेवारी हो देशको अस्तित्वको रक्षा गर्ने। हामीले वर्तमान नेपालको परिस्थितिको दुईमुखे रूप देखेका छौँ-राष्ट्रियता र प्रजातन्त्र। प्रत्येक राष्ट्रको इतिहासमा यस्तो घडी पनि आउँछ, जब यसका बासिन्दाले आफ्नो ज्यान समेत खतरामा हालेर यसको अस्तित्वको रक्षा गर्नुपर्छ। मलाई लाग्छ आज नेपालमा त्यो घडी आएको छ। राष्ट्रिय सङ्कटको घडीमा हामी सबैले बितेका अप्रिय विवाद, अनुभव र मतभिन्नतालाई बिर्सेर, समाप्त गरेर एकताको सूत्रमा बाँधिनुपर्छ।
मलाई त कहाँसम्म लाग्छ भने, कति अस्थिरताको स्थिति छ भने एक-दुई वर्षभित्रमा नै यदि हामीले केही पहल गरेनौँ भने हामी रहन्छौँ या रहँदैनौँ, हाम्रो देश रहन्छ कि रहँदैन भन्ने किसिमको अवस्था छ। नेपालीहरू अरूहरूबाट पालिनुपरेको छ, अरूहरूमाथि आश्रित हुनुपरेको छ। हाम्रा मानिसहरू बाहिर गएर काम पाए भने मात्रै उनीहरूले खान-लाउन पाउँछन्, हामीले बाहिरको सहायताबाट विकासको कुरा गर्नु परेको छ।’
एकछिनको मौनतापछि हामीले भन्यौँ, ‘होइन, हामी पञ्चायतलाई स्वीकार गरेर नेपाल गइरहेका छैनौँ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति सङ्घर्षका कारण यस बेला हाम्रो देश सङ्कटमा छ। यस्तोमा हामी यता बसिरहनुभन्दा देशभित्रै रहेर देशलाई सङ्कटमुक्त गर्नतर्फ लाग्नुपर्छ भन्ने हाम्रो पार्टीको सर्वसम्मत निर्णयअनुरूप हामी जान लागेका हौँ।’
त्यसपछि त्यहीँ बीपीले भन्नुभयो- ‘तिमीहरूले जे उत्तर देवेन्द्र बाबुलाई दियौ, त्यसबाट म ढुक्क छु। वास्तवमा हामी एउटा जोखिम मोलिरहेका छौँ। राजनीति गर्नेले जोखिम उठाउनै पर्दछ। किनभने राजनीति दुई र दुई जोड्दा सधैँ चार हुने गणितजस्तो विषय होइन। राजनीतिमा विगतको अनुभवका आधारमा तत्काल विकसित परिस्थितिको मूल्याङ्कन र विश्लेषण गरेर भविष्यको पूर्वानुमान गरी निर्णय लिनुपर्ने भएकाले त्यहाँ जोखिम हुन्छ नै। परिस्थितिको विश्लेषण सही भएन भने आफूले लिएको निर्णय र त्यसको परिणाम प्रतिकूल हुन सक्छ। यस्तो प्रतिकूलताको जोखिम जहिले पनि रहन्छ। त्यो जोखिम बेलायतमा राजनीति गर्नेहरूका लागि पनि छ। त्यहाँ राजनीतिक जोखिम भनेको निर्वाचनमा पराजय हुन सक्छ। त्यस्तो जोखिम हिन्दुस्तानमा पनि लिइन्छ। यहाँ त्यसको परिणाम जेल जानुपर्ने हुन्छ। हामी नेपालको राजनीति गर्ने मानिस हौँ। त्यहाँको जोखिममा गर्दनसमेत जान सक्छ। त्यसैले आज हाम्रो गर्दन बाजीमा छ। गर्दन नै जान सक्ने जोखिम किन लिनुपरेको भन्दा मुलुकलाई सङ्कटबाट मुक्त गर्न। मुलुक रहे मात्रै प्रजातन्त्रको कुरा, राजनीतिको कुरा गर्न पाइने हो। मलाई विश्वास छ, हामी मुलुकलाई सङ्कटमुक्त गर्न सक्छौँ।’
उहाँले अगाडि भन्नुभयो- ‘फेरि यो पनि होइन कि मैले राजासँग कुरा गरेको छु वा कुनै किसिमको सहमति राजासँग भएको छ, वा कुनै बाहिरिया शक्तिको सहारा लिएको छु। मैले यो निर्णय यस क्षेत्रको समग्र परिस्थितिको अध्ययन गरेर लिएको छु, जसका बारेमा तिमीहरूलाई भनेको छु र तिमीहरू जानकार पनि छौ। एक वर्ष पहिलेदेखि नै मैले तिमीहरूलाई भन्दै आएको नै हो। अन्य अन्तर्राष्ट्रिय सन्दर्भमा मैले गरेका भविष्यवाणीहरू सही साबित भइरहेको तिमीहरूलाई थाहै छ।’
‘म विश्व राजनीतिलाई सूक्ष्म रूपमा हेरिरहेको छु। यस क्षेत्रमा, नेपालभित्रै पनि विकसित परिस्थितिको विश्लेषणका आधारमा म यस कुरामा विश्वस्त छु कि हामीलाई साथमा नलिएर राजालाई पनि धर छैन। राष्ट्रियताका सम्बन्धमा हामीलाई भन्दा बढी चासो राजालाई छ। देश नरहे पनि हामी कतैका मानिस भएर रहौँला, तर देश नरहे त राजा रहन्नन्। यति कुरा राजाले अवश्यै बुझेका छन्। त्यसैले पनि उनले हामीसँग सहकार्य गर्नैपर्छ।’
त्यहाँबाट बीपी र गणेशमानजीहरूका साथ हामी पार्टी अफिस फिर्यौँ। त्यहाँ भेला भएका हामीले एउटा फोटो लियौँ। त्यो फोटो पछि यताका पत्रपत्रिकामा छापिएको पनि छ। त्यो बेलुकी शैलजाजीले हामीलाई सिनेमा देखाउन लानुभयो। नोना भाउजू पनि हुनुहुन्थ्यो। गिरिजा दाइ पनि भएजस्तो लाग्छ। फिल्म सायद ‘शोले’ थियो।
भोलिपल्ट अर्थात् हामी नेपाल फिर्ने दिन बिहानैको रेलबाट बीपी र गणेशमानजी बनारस फिर्दै हुनुहुन्थ्यो। उहाँहरूलाई रेल्वे स्टेसनमा छाड्न हामी पनि गयौँ र अन्तिम बिदा लियौँ। त्यस बेला भने बीपी अलिक चिन्तित र भावुकजस्तो देखिइरहनुभएको थियो जस्तो लाग्छ।
निर्धारित समयमा हामी पटना विमानस्थल पुग्यौँ। बोर्डिङ पास लिन खोज्दा त्यहाँ हाम्रो पासपोर्ट मागियो। ‘नेपालीलाई त भारतमा पासपोर्ट चाहिँदैन र हामीसँग त्यो छैन पनि’ भन्यौँ, तर काउन्टरमा रहेको त्यो मानिस आफ्नै कुरामा अडियो। लाग्यो- सायद भारत हामीलाई यसरी नेपाल फिर्न दिने पक्षमा छैन। बीपीलाई पनि भारतमै अल्झाएर राख्ने प्रयत्न इन्दिरा गान्धीले गरिरहेकी थिइन्। भारतीय कांग्रेसका शीर्ष नेताहरू बीपीलाई भेटेर यस्तै आग्रह गरिरहेको हामीलाई थाहा थियो।
गिरिजा दाइ अलिक पर उभिनुभएको थियो, गएर उहाँलाई सो कुरा भन्यौँ। संयोगवश गिरिजा दाइसँग चिनजान भएका एक भारतीय उच्च अधिकृत त्यहीँ आइपुगे। उनलाई भनेपछि उनले त्यो डेस्कको मानिसलाई के भने, उसले हामीलाई बोलाएर बोर्डिङ पास दियो। हामीले बोर्डिङ पास लिन थाल्दा शैलजाले आफूलाई सम्हाल्न सक्नुभएन र एउटा कुनातिर गएर भक्कानिन थाल्नुभयो। त्यसपछि नोना भाउजू पनि। गिरिजा दाइलाई समेत आफूलाई नियन्त्रित राख्न गाह्रो परिरहेको उहाँको मुहारबाट प्रस्ट देखिन्थ्यो। अरू साथी के सोच्दै थिए थाहा भएन, मलाई भने न चिन्ता थियो न कुनै भय। सम्झन्छु, मेरो दिमाग विचारशून्य सरह थियो। हामीले गिरिजा दाइलाई ‘जय नेपाल’ भनेर सबैलाई हात हल्लायौँ र भित्र छिर्यौँ।
पटनाबाट जहाज उड्यो। त्यो दिन मेरा लागि तीनवटा संयोग परेको थियो। पहिलो, राष्ट्रिय एकता तथा मेलमिलापको नीतिअन्तर्गत स्वदेश फिर्ने पार्टीका सदस्यहरूको पहिलो समूहमा रहेर खुला रूपमा नेपाल प्रवेश गर्दै थिएँ। दोस्रो, म पहिलो पटक हवाईजहाज चढ्दै थिएँ र तेस्रो, देशको राजधानी काठमाडौँ पनि पहिलो पटक पुग्दै थिएँ। एक किसिमको उत्सुकता थियो तर जहाजबाट देखिने दृश्यहरूमै भुलिइरहेको थिएँ। केही बेरपछि जहाजले नेपाली आकाश प्रवेश गरेको जानकारी दिइयो। मैले आफ्ना आँखा हल्का चिम्म गरी अलिकति शिर निहुराएर नेपाल आमालाई वन्दना गरेँ।
