आयोगको अन्तिम नामावली: १ करोड ८९ लाख मतदाता
फाइल तस्बिर
काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ। आयोगले शनिबार प्रकाशित गरेको विवरण अनुसार देशभर कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ जना मतदाता कायम भएका छन्।
पुरुष मतदाताको संख्या ९६ लाख ६३ हजार ३ सय ५८ छ भने महिला मतदाताको संख्या ९२ लाख ४० हजार १३१ छ । ‘अन्य’ मा २०० जना मतदाता सूचीकृत भएका छन् । निर्वाचन आयोगले मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम यो नामावलीलाई अन्तिम रूप दिएको हो ।
आयोगका अनुसार २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकहरूको विवरणलाई अद्यावधिक गरी यो सूची तयार पारिएको हो । मतदाता नामावली ऐन तथा अद्यावधिक कार्यविधि, २०८१ मा भएको व्यवस्था बमोजिम आवश्यक प्रक्रिया पूरा गरेर मात्रै अन्तिम नामावली निकालिएको आयोगले जनाएको छ ।
सम्बन्धित मतदाताले आफ्नो नाम र विवरण हेर्न चाहने हो भने निर्वाचन आयोगको आधिकारिक वेबसाइटमा गएर सहजै हेर्न सक्ने व्यवस्था मिलाइएको छ । आयोगले सबै मतदातालाई समयमै आफ्नो नामावली रुजु गर्न समेत सूचित गरेको छ ।
