छात्रा जिस्क्याएको आरोपमा विद्यार्थी निलम्बन, मनमोहन विश्वविद्यालयमा तनाव
विराटनगर । विश्वविद्यालयका छात्रा जिस्क्याएको आरोपमा चार जना छात्रलाई निलम्बन गरेपछि मोरङको बुढीगंगास्थित मनमोहन प्राविधिक विश्वविद्यालयमा शुक्रबार तनाव भयो। पोलिटेक्निक विषय अध्ययनरत छात्राहरूमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रशासनले विद्यार्थीलाई कारबाही गरेपछि स्थिति बिग्रिएको हो।
४-५ दिनअघि केही छात्रहरूले छात्राहरूलाई जिस्क्याएपछि विश्वविद्यालय प्रशासनले अभिभावकसँग छलफल गर्यो। सोही छलफलका आधारमा प्रशासनले चार जना विद्यार्थीलाई १५ दिनका लागि कलेज प्रवेशमा निषेध गर्ने निर्णय गर्यो। तर, निलम्बनमा परेका केही विद्यार्थी र उनीहरूका अभिभावकले आफूहरू निर्दोष रहेको दाबी गर्दै निर्णयप्रति कडा आपत्ति जनाए।
निलम्बनमा परेकामध्ये एक विद्यार्थीले आफ्नो संलग्नता अस्वीकार गरे पनि अन्य विद्यार्थीले उनीमाथि आरोप लगाउन छाडेनन्। यही विवादका कारण असन्तुष्ट विद्यार्थीहरू आक्रोशित बने र विश्वविद्यालयको मूल गेट बाहिर टायर बालेर प्रदर्शनमा उत्रिए। प्रदर्शनका कारण केही समय विश्वविद्यालय परिसर वरपरको वातावरण तनावपूर्ण बन्यो। यद्यपि, क्याम्पस भित्र कुनै भौतिक क्षति नभएको प्रशासनले जानकारी दियो।
स्थिति नियन्त्रणमा लिन विश्वविद्यालय प्रशासनले एक सूचना जारी गर्दै अभिभावकहरूसँग पुनः छलफल गर्ने तयारी गर्यो। विद्यार्थीहरू साँच्चै दोषी हुन् वा होइनन् भन्नेबारे थप बुझ्न र समस्याको समाधान निकाल्न वार्ताको बाटो रोजेको विश्वविद्यालयले जनायो। यो छलफलपछि मात्रै निलम्बनसम्बन्धी अन्तिम निर्णय लिने प्रशासनले स्पष्ट पार्यो।
